दोस्रो रुकुम कप: आयोजक, आर्मी र हाम्रो सरोकार विजयी

दोस्रो रुकुम कप: आयोजक, आर्मी र हाम्रो सरोकार विजयी

रुकुमपश्चिम -  रुकुम पश्चिमको मुसिकोटमा जारी दोस्रो रुकुम कप भलिबलमा आइतबार तीन खेल भएका छन् । जसमा आयोजक रुकुम पश्चिम, नेपाली सेनाको चण्डीदल गण सल्ले र हाम्रो सरोकार विजयी भएका छन् । पहिलो खेलमा हाम्रो सरोकारले सल्यानलाई पराजित गर्‍यो । उसले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सल्यानलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

 पहिलो सेट ९ का विरुद्ध २५ ले जितेको हाम्रो सरोकारले दोस्रो सेट २२ का विरुद्ध २५ र तेस्रो सेट २८ का विरुद्ध ३० ले जित्न सफल भयो । हाम्रो सरोकारमा कोसी प्रदेशका क्याप्टेन विष्णु बस्नेत सहित कर्णाली प्रदेशका क्याप्टेन शैलेन्द्र शाही लगायतका खेलाडी छन् । सल्यानमा सुदूरपश्चिम प्रदेशका बलदेवसिंह धामी, लुम्बिनीका विकास गिरी लगायतका खेलाडी छन् । 

दोस्रो खेलमा नेपाली सेनाको चण्डी दल गणले बाँफिकोट गाउँपालिका ४ लाई पराजित गर्‍यो । यो खेलमा आर्मी पनि ३–० को सेटमा विजयी भयो । आर्मीले पहिलो सेट १६ का विरुद्ध २५, दोस्रो सेट ११ का विरुद्ध २५ र तेस्रो सेट २० का विरुद्ध २५ ले आफ्नो पक्षमा पार्दै सहज जित हात पारेको हो । प्रतियोगितामा यो आर्मीको पहिलो खेल हो । आर्मीमा नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट र दुर्गा महतो समेत छन् । 

त्यस्तै आइतबार नै भएको तेस्रो खेलमा आयोजक रुकुम पश्चिमले बाँफिकोट गाउँपालिकालाई हरायो । आयोजकले पनि ३–० को सोझो सेटमा जित दर्ता गरेको हो । रुकुम पश्चिमले पहिलो सेट १३ का विरुद्ध २५, दोस्रो सेट १५ का विरुद्ध २५ र तेस्रो सेट १८ का विरुद्ध २५ ले आफ्नो पक्षमा पार्दै सहज जित हात पार्‍यो । आयोजकको पनि प्रतियोगितामा यो पहिलो खेल हो । आयोजक रुकुम पश्चिममा राष्ट्रिय भलिबल खेलाडी रविन चन्द, सफल विक, लोकेन्द्र गिरी लगायतका खेलाडीहरू छन् । 

प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी मध्ये अब नवलपरासीले पहिलो खेल खेल्न बाँकी रहेको छ । उसको खेल भोली रहेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

सहभागी सबै ७ टिमलाई एकै समूहमा राखिएको छ । सहभागी सबै टिमले एक अर्कासँग खेल खेल्ने छन् । अङ्क तालिकाको १ र २ नम्बरमा रहने टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्ने छन् भने तेस्रो र चौथो टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी गराउनुभयो । समूह चरणका २१ र फाइनल तथा तेस्रो स्थानका गरी कुल २३ वटा खेल सञ्चालन हुने छन् । 

यो प्रतियोगिता २०८१ सालको देशभरकै ठुलो पुरस्कार राशिको प्रतियोगिता भएको आयोजकको दाबी छ । प्रतियोगिताको विजेता पुरस्कार पाँच लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ राखिएको छ । उप विजेता पुरस्कार दुई लाख ५५ हजार पाँच सय ५५ रहेकामा तेस्रो पुरस्कार एक लाख ५५ हजार पाँच सय ५५ र सान्त्वना पुरस्कार एक लाख पाँच हजार पाँच सय ५५ रहेको अध्यक्ष बुढाले बताउनुभयो । पहिलो संस्करणको तुलनामा समग्रमा सबै पुरस्कारमा वृद्धि गरिएको उहाँको भनाई छ । नगद सहित कप, मेडल र प्रमाण पत्रको समेत व्यवस्था रहेको छ । 

साथै विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने छ । अध्यक्ष बुढाका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार पाउँदा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचले समान पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता हेर्नका लागि टिकेटको व्यवस्था छ । समूह चरणका खेलमा १ सय र सेमिफाइनल तथा फाइनलमा २ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।कखरा

प्रतिक्रिया