श्रमिक अधिकार सुनिश्चित तथा बाल श्रम अन्त्य गर्न सोसेकको अपिल

श्रमिक अधिकार सुनिश्चित तथा बाल श्रम अन्त्य गर्न  सोसेकको अपिल

काठमाडौँ  -  श्रमिक अधिकार सुनिश्चित तथा बालश्रम अन्त्यका लागि सोसेक नेपालले अपिल गरेको छ । १३५औँ अन्तराष्ट्रिय दिवसका अवसरमा श्रमिक अधिकार सुनिश्चित गर्न तथा बाल श्रमको अन्त्य गर्न सोसेक नेपालले अपिल गरेको हो ।

 सोसेक नेपालले अपिल पत्र जारी गर्दै भनेको छ, 'नेपाल लगाएत विश्वभर भव्यताकासाथ दिवस मनाउने चलन छ । यो नेपाल लगाएत विश्वभरीका श्रमिकको अधिकारसँग सम्बन्धित छ । अन्तराष्ट्रिय श्रमिक आन्दोलन पर्वको रूपमा मनाइने यो दिवस सन् १८९० देखि मनाउन थालिएको हो । अमेरिकाको सिकागोमा मजदुरले १८८६ मे १ मा ‘आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा मनोरञ्जन’ को माग राख्दै सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झना गर्दै सन् १८९० मे १ तारिख देखि यो दिवस बार्षिक रुपमा मनाउन थालिएको हो ।' 

यस दिन विश्वका ८० भन्दाबढी राष्ट्रमा आधिकारिक रूपमा सार्वजनिक बिदा दिईदै आइएको छ ।  विश्वका धेरै राष्ट्रमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ । नेपालमा वि।सं। २००७ मा विराटनगरमा भएको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । 

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै यस दिनमा वि.सं २०६४ बाट सार्वजनिक बिदा दिन थालिएको हो । श्रमिक वर्गको एकता, वीरता र संघर्षको प्रतीकका रूपमा लिइने यस दिवसलाई नेपालका श्रमिकले राजनीतिक अधिकार एवं पेशागत अधिकारको सुनिश्चितताका लागि सरकार लगाएतका निकायहरुलाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । 
आम श्रमिक राष्ट्र निर्माणका धरोहर हुन् । मजदुरको परिश्रमबिना कुनै पनि देशको विकास हुन सक्दैन । 

श्रमिकको व्यावसायिक तथा पेशागत हकहितलाई संरक्षण र सम्बद्र्धन गर्न नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हकको व्यवस्था गरिएको छ । श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरिए अनुरूप विभिन्न ऐन÷कानुन निर्माण भएका छन् । यसैगरी धारा ४२ मा रहेको सामाजिक न्यायको हक अन्तर्गत पनि श्रमिकको अधिकार सुरक्षित गरिएको छ । 

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाद्धारा जारी अपिल पत्रमा भनिएको छ, 'योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७५ ले पनि श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ । यसबाहेक योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७५, ट्रेड युनियन ऐन २०४९, श्रम ऐन २०७४ लागू गरिएको छ । संविधानले श्रमिकका आधारभूत अधिकारका रूपमा रहेको सामाजिक सुरक्षाको अधिकार, बेरोजगारी अन्त्य गरी रोजगारीको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानीको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि श्रमिकको आर्थिक तथा सामाजिक अवस्थामा भने खासै परिवर्तन आउन सकेको पाइँदैन । नेपालका श्रमिकको अवस्था आज पनि दयनीय अवस्थामा नै रहेको छ ।' 

 संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गर्न सक्नुपर्छ । श्रमिकको न्यूनतम पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्नुका साथै श्रमको सम्मानका लागि नेपाल सरकारले विशेष ध्यान दिन सक्नुपर्छ । सरकारले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउन प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लगायतका नवीनतम् कार्यक्रमहरु कार्यान्वयनमा ल्याइएकोछ । 

विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै १३५  औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिक अधिकार सुनिश्चित गर्न सकोस्  तथा बाल श्रमको अन्त्य होस भन्दै सम्पूर्ण नेपाली श्रमिकको मुहारमा खुसी र समृद्धी ल्याउन सकोस् शुभकामना दिइएको छ  ।

प्रतिक्रिया