२२ बर्षिया भिमाको शव २१ दिनदेखी अस्पतालमै

२२ बर्षिया भिमाको शव २१ दिनदेखी अस्पतालमै

          दैलेख ।  कर्णाली प्रदेश अस्पतालमा गत चैत्र २९ गते  मृत्यु भएकी दैलेख आठविस नगरपालिका–५ की २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको २१ दिन वितिसक्दा शव अस्पतालमै छ ।  पीडित परिवारको गुनासो अस्पतालले सुनुवाई नगरेको भन्दै शव बुझेका छैनन् । शव नबुझेकापछि भीमाको मृत्युप्रकरण यतिवेला अदालत सम्म पुगेको छ ।

 
भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले कर्णाली प्रदेश अस्पताल र अस्पतालका निर्देशक डम्बर खड्का र उपचारमा संलग्न चिकित्सकविरुद्ध वैशाख १७ गते अन्तरकालीन माग गर्दै जिल्ला अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।  घटनामा संलग्न चिकित्सकमाथि छानविन सहित कारवाही  गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गर्दै अधिवक्ता शेरबहादुर खत्रीको रोहवरमा मृतकका आफन्त अदालत पुगेका हुन । 


गएको मंगलबार  निवेदनमा सुनुवाइ गर्दै घटनाको गम्भिर्यता र संवेदनशीलता समेतलाई ध्यान दिँदै दुवै पक्षलाई वैशाख २१ गते विहिवार छलफलका लागि झिकाउन आदेश दिएको छ । अन्तरकालिन आदेश उल्लेख गरिए अनुसार  मृतकका आफन्त, परिवार, सहयोगी समेतलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय सुर्खेत र सुरक्षा निकायलाई आदेश दिइएको छ । पीडित परिवारको तर्फबाट अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए ।मृतक भीमाको सात महिना दुधे छोरी छन् ।  सामान्य पेट दुखाई सम्बन्धी समस्या लिएर  अस्पताल पुगेकी  डाक्टरहरूको लापरबाहीकै कारण मृत्यु भएको पीडित परिवारको भनाई छ । 

 


भीमाको शल्यक्रिया गर्नुभन्दा अगाडि चिकित्सकको टिमले केश सामान्य भएको चिन्ता नगर्ने मृतकका आफन्तलाई जानकारी दिएका पिडित परिवार भनाई छ । एक्कासि मृत घोषणा गरिएकाले लापरबाहीकै कारण मृत्यु भएको निष्कर्ष परिवारको छ । यो विषयमा अस्पताल प्रशासन, जिल्ला प्रशासन र प्रदेश सरकारबिच पटक–पटक वार्ता हुँदा पनि निष्कर्षमा पुग्न नसकेपछि आफन्त शव अस्पतालमै छोडेका थिए  । शव अस्पतालमा छोडेको झण्डै महिना दिन पुग्न लाग्दा अस्पताल प्रशासनले कुनै सुनुवाई नगरेको भन्दै पिडित परिवार न्यायको लागि अदालत जान बाध्य भएका हुन । 
भीमाको उपचारमा प्रदेश अस्पतालका चिकित्सक डा.ललितजंग शाही सक्रिय थिए । भीमाको शल्यक्रिया गर्नुअघि डा. शाही समेतको चिकित्सकको समूहले यो केश सामान्य भएको बताएको कुरा रिटमा उल्लेख छ ।  पिडित परिवारले अदालतमा दिएको रिटमा उपचारका क्रममा भएको त्रुटि, हेलचेक्राइ र लापरवाहीका कारण मृत्यु भएकाले क्षतिपूर्ति दिलाई भराई पाऊँ भन्ने उल्लेख गरिएको छ ।   नाबालक छोरीको लालन पालन, रेखदेख संरक्षणका साथै उचित क्षतिपूर्तिका लागि अदालतबाट नै पीडित परिवारलाई दिलाई भराई पाऊँ भनी माग दाबी गरिएको हो । स्वास्थ्य परिक्षण प्रतिवेदन लगायतका प्रमाणहरू नष्ट गर्न सक्ने भएको हुँदा मृतकको स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाई पाऊँ भनिएको छ ।  


बिरामीको शल्यक्रिया गर्दाको चिकित्सकहरूको समूहको बारेमा जानकारी दिन प्रदेश अस्पताललाई आदेश गरि पाउनाका साथै प्रशासन र मानवअधिकार आयोगको प्रत्यक्ष निगरानीमा अर्को अस्पतालबाट शव पोस्टमार्टम गराउन आदेश पाऊँ भनेर माग गरिएको छ । 
 

प्रतिक्रिया