स्वास्थ्य कार्यालयको उद्घाटन


दैलेख -कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले संघीय सरकार, प्रदेश र स्थानीय तह समेत तीन तहका सरकारहरुवीच समन्वय बिना जनतामा सेवा प्रवाहमा समस्या पर्ने गरेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत सामायोजन गरिएको स्वास्थ्य कार्यालयको दैलेख सदरमुकाममा उद्घाटन गर्दै साँसद थापाले सो विचार राख्नुभएको हो । उहाँले भन्नुभयो ‘सेवा प्रवाहमा सहजताका लागि स्वास्थ्य कार्यालयलाई प्रदेश सरकार अन्तरगत ल्याइएको हो ।’
साँसद थापाले कर्णाली प्रदेश सरकारले अस्पताल व्यवस्थापन र स्वास्थ्य उपकरण खरिदका लागि दिन लागेको डेढ करोड रुपैंयाँ दैलेख जिल्ला अस्पतालको साधनश्रोत सम्पन्न र स्तरबृद्धिमा खर्च गर्न सुझाव दिनुभयो ।
स्वास्थ्य कार्यालका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीको अध्यक्षमा भएको कार्यक्रममा जिसस प्रमुख प्रेमबहादुर थापा, नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटा, दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले पनि स्वास्थ्य कार्यालय स्वायत्त बनाएपछि सेवा प्रभावकारी हुनेमा आशा व्यक्त गर्नुभयो ।
यसअघि केन्द्र सरकार अन्तरगत राखिएको जिल्ला स्वास्थ्य कार्यालयलाई सदरमुकामको स्थानीय तहमा बजेट पठाउने र खर्चको बिलभरपाई स्थानीय तहले उठाउने गरेकोमा केन्द्र सरकारले नै स्वास्थ्य कार्यालय र अस्पताल छुट्टाछुट्टै कार्यालयको रुपमा स्थापना गरे अनुरुप दैलेखमा स्वास्थ्य कार्यालय उद्घाटन गरिएको हो ।
प्रतिक्रिया