कोरोना जित्नेको संख्या बढ्दै २४ घण्टामा २२ सय ८७ डिस्चार्ज, मृतकको संख्या ३०६ पुग्यो

कोरोना जित्नेको संख्या बढ्दै २४ घण्टामा २२ सय ८७ डिस्चार्ज, मृतकको संख्या ३०६ पुग्यो

काठमाडौं भदाै २३ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् । ९०२ जनामा संक्रमण पुष्टि हुँदा २२ सय बढी डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । 

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । कोरोना जित्नेको यो संख्या ६८.५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए। पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६  पुगेको छ । 

२४ घण्टामा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ। अहिले होम आइसोलेसनमा ६ हजार ८१५ रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना रहेका छन्। नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ८८ हजार १७४ पुगेको छ। अहिले क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्। 

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन्। त्यसैगरी  ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमण शून्यमा झरेको छ।  

प्रतिक्रिया