दैलेखका आठ स्थानमा झोलुङ्गे पुल निर्माण: चार महिनाभित्र सम्पन्न हुने लक्ष्य

- डम्बर विश्वकर्मा
दैलेख - दैलेख जिल्लामा आगामी चार महिनाभित्र आठवटा ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने योजना बनाइएको छ। यसअन्तर्गत आठबीस नगरपालिका–१ को चिनेखोला लयाँटी–झुज, वडा नं. ९ को छेपाडी र भकभकेमा दुईवटा झोलुङ्गे पुल बनाइनेछ। यसैगरी महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि एउटा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ।
भैरवी गाउँपालिका–४ र चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको छ। नारायण नगरपालिका–१० को भवानीमात्रि बेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ को हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा असार १५ गतेभित्र झोलुङ्गे पुल निर्माण सक्ने लक्ष्य राखिएको छ।
झोलुङ्गे पुल निर्माणका लागि प्रयोग हुने सामग्री र बनाउने विधिबारे जानकारी दिन फागुन ४ गतेदेखि ८ दिने तालिम दैलेख सदरमुकाममा आयोजना गरिएको थियो। यस तालिममा आठवटा ठाउँका उपभोक्ता समितिका दुई–दुई जना पदाधिकारी र एक जना मिस्त्री गरी २८ जना सहभागीले भाग लिएका थिए। तालिममा झोलुङ्गे पुल निर्माणका लागि प्रयोग हुने फुटवाक, ह्याण्डमेल स्याडल, फलामे लठ्ठा, डेटमेन, ड्रम सेट, हुक, एंगल रड, स्टीलडेक जस्ता सामग्रीहरूको प्रयोगात्मक प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई ढुङ्गा बोक्ने, गिट्टी कुट्ने, बालुबा चाल्ने, ढुङ्गा काटेर आकार दिने, सिमेन्ट मोल्ने, पर्खाल लगाउने लगायतका कामहरू प्रत्यक्ष रूपमा गराइएको थियो।
तालिमको अन्तिम दिन सहभागीहरूले नमूना झोलुङ्गे पुल निर्माण गरेका थिए। यो नमूना पुल साढे पाँच मिटर लामो थियो। यसमा तलमाथिका फलामे लठ्ठा सन्तुलन राख्न ३५ सेन्टिमिटर उचाइको हुक रड, स्टीलडेक कस्ने एंगल रड (आधा मिटरको) लगाइएको थियो। यसरी सानो आकारको झोलुङ्गे पुल बनाएर सहभागीहरूलाई निर्माण विधि र अवधारणा विकास गराइएको थियो।
दुई करोड तीस लाख रुपैयाँ बजेट
कर्णाली प्रदेश सरकारको लगानी तथा पूर्वाधार विकास कार्यालय दैलेख र ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी) को सहकार्यमा यो तालिम आयोजना गरिएको हो । जिल्लामा निर्माण हुन लागेका आठवटा झोलुङ्गे पुलका लागि दुई करोड तीस लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। डिटेल सर्भे पछि थप रकम सुनिश्चित गरिएको र तोकिएको समयमा योजना सम्पन्न गरिने पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख पदम प्रसाद देवकोटाले जानकारी दिनुभयो ।
झोलुङ्गे पुल निर्माणका लागि प्रयोग हुने सामग्री र बनाउने विधिबारे अभ्यास तालिमले प्रयोगात्मक ज्ञान दिएको भकभके झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष छिताराम बिकले बताउनुभयो । महाबु–३ बाँसीकी मञ्जु बिष्टले तालिमले आफ्नो ठाउँमा पुल बनाउन सहज हुने अनुभूति सुनाउनुभयो ।
२०८२ असार १५ गतेभित्र योजनाहरू सम्पन्न गर्ने लक्ष्य राखी कार्यलाई गुणस्तरीय रूपमा तिब्रता दिइएको छ। पूर्वाधार विकास कार्यालय दैलेखका इन्जिनियर नविन आचार्यले योजनाको कार्यान्वयनमा कुनै कमी नराख्ने बताउनुभयो ।
दैलेख जिल्लामा हालसम्म दुई सयभन्दा बढी झोलुङ्गे पुलहरू निर्माण भइसकेका छन्। तर अझै धेरै स्थानमा झोलुङ्गे पुल निर्माण गर्न स्थानीय समुदायबाट माग आउने गरेको छ। झोलुङ्गे पुलको अभावमा वर्षेनी धेरै मानिसहरूको ज्यान जाने गरेको छ। यसैले यी पुलहरू निर्माण गर्नु जिल्लाका नागरिकहरूका लागि अत्यावश्यक रहेको छ।
प्रतिक्रिया