कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न पाँच दिने तालिम सम्पन्न

दैलेख - दैलेखमा कर्मचारीहरुको लागि पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । एइआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालको आयोजनामा सोसेक नेपालद्वारा संचालित परियोजनामा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो ।
सहकार्य, आधार, राउटे र बिहानी परियोजनामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आयोजित पाँच दिने तालिम सम्पन्न भएको छ ।
वैशाख ६ गतेदेखि १० गतेसम्म दैलेख सदरमुकाममा सञ्चालन भएको उक्त तालिममा ३६ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिमको उद्देश्य सहभागी कर्मचारीहरूलाई ज्ञान, सीप, दक्षता र व्यवहारमा अभिवृद्धि गर्दै संस्थागत कार्यसम्पादनमा गुणात्मक सुधार ल्याउनु रहेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिनुभयो ।
तालिममा संस्थागत क्षमता विकास, सकारात्मक अभिभावकत्व, टिम बिल्डिङ, सेफगार्डिङ, सामाजिक परिचालन, बाल अधिकार, जेसी सुरक्षा नीति, अनुगमन तथा मूल्याङ्कन, सामाजिक उत्तरदायित्व र सिकाइ अवधारणाजस्ता विषयहरूमा गहन छलफल र अभ्यास गरिएको थियो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक रत्न बुढाले गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी जीवराज रेग्मीले सम्हाल्नुभएको थियो।
कार्यक्रमको समापन समारोहको अध्यक्षता सोसेक नेपालकी सचिव ललिता भण्डारीले गर्नुभएको थियो । उहाँले सम्बोधन गर्दै संस्थाले आगामी दिनहरूमा पनि कर्मचारीहरूको व्यावसायिक विकासका लागि यस्ता प्रभावकारी तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले तालिमले कर्मचारीहरूको पेशागत दक्षता र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, 'संस्थाको सेवा प्रवाहमा गुणस्तर सुनिश्चित गर्न कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि अत्यावश्यक हुन्छ । यस्तो प्रकारको तालिमले हाम्रो टिमलाई अझ सशक्त र प्रभावकारी बनाउने छ। आगामी दिनहरूमा पनि हामीले आवश्यकता अनुसार अझ परिस्कृत र व्यावसायिक तालिमहरू सञ्चालन गर्दै जानेछौँ ।'
प्रतिक्रिया