चिनारीमा अनुगमन : खेलौना र शैक्षिक सामग्री उपलब्ध गराउन माग

कालिकोट – कालिकोट जिल्लाको श्री चिनारी आधारभूत विद्यालयमा हालै गरिएको अनुगमनको क्रममा विद्यालयमा शैक्षिक तथा खेल सामग्रीको अभाव रहेको पाइएको छ ।
एइआइएन लक्जेम्बर्ग र सोसेक नेपालसहितले अनुगमन गरेका थिए । विद्यालयका प्रधानाध्यापक मनशोभा शाहीका अनुसार कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरूले खेलौनाका सामान अझै नपुगेको भन्दै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
विद्यालयअन्तर्गत सञ्चालित बाल विकास केन्द्रमा हाल २८ जना बालबालिका अध्ययनरत छन् । दुई वर्षअघि बाल विकास केन्द्रमा जम्मा २ जना बालबालिका मात्र रहेका थिए भने यस शैक्षिक वर्षमा अपांगता भएका बालबालिकाको समेत नाम दर्ता गरिएको छ ।
विद्यालयले बालबालिकाहरूलाई खेल निर्माण तथा शैक्षिक सामग्री आवश्यक परेको जनाएको छ। 'बालबालिकाहरू चित्रमार्फत सिक्न, खेल्दै सिक्न धेरै मन पराउँछन्,' प्रधानाध्यापक शाहीले बताउनुभयो, तर आवश्यक सामग्रीको अभावका कारण प्रभावकारी सिकाइ पद्धति सञ्चालन गर्न कठिन भइरहेको छ ।'
अनुगमन टोलीले बालबालिकाको चासो, आवश्यकता र सिकाइ पद्धतिलाई प्राथमिकतामा राख्दै आवश्यक शैक्षिक तथा खेल सामग्रीको आपूर्तिका लागि सम्बन्धित निकाय र दाताहरूको सहकार्य आवश्यक रहेको सुझाव दिएको छ ।
विद्यालय प्रशासनले आगामी दिनमा बाल विकास केन्द्रलाई अझ व्यवस्थित र समावेशी बनाउने लक्ष्य लिएको छ। यसका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा सामाजिक संघसंस्थाको सहयोग अपेक्षित रहेको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया