ठाटीकाँधमा सहकार्यको प्रभाव : जनताको जीवनस्तर उकासिँदै

ठाटीकाँध – दैलेखको दुर्गम ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजनाले स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ । एइआईन लक्जेम्बर्गको साभेदारीमा सोसेक नेपालद्वारा संचालित सञ्चालित यो परियोजनाले कृषि, महिला सशक्तिकरण, सामाजिक कुरीति न्यूनीकरण र शिक्षा क्षेत्रमा उल्लेखनीय टेवा पुर्याउन थालेको छ। हालै गरिएको स्थलगत अनुगमनले परियोजनाले गाउँपालिकामा ल्याएको उत्साहजनक परिवर्तनलाई उजागर गरेको छ ।
ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ कि कोकिला बुढा, जो तरकारी खेतीमा सक्रिय हुनुहुन्छ, वार्षिक १ लाख २० हजार रुपैयाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । 'सहकार्य परियोजनाले मलाई व्यावसायिक तरकारी खेती गर्न प्रेरित गर्यो,' उहाँ भन्नुहुन्छ, 'आज म आत्मनिर्भर छु र आफ्नो परिवारलाई राम्रोसँग पाल्न सक्छु ।'
जुवारा रावत अर्की एक महिला हुन् । जसको जीवनमा परियोजनाले हरियाली ल्याएको छ । सोसेक नेपालको सहयोगपछि उहाँले आफ्नो घर र करेसाबारीमा तरकारी खेतीलाई विस्तार गर्नुभएको छ ।
त्यस्तै ठाटीकाँधकै एकल महिला सावित्रा विकको लागि बाख्रापालन व्यवसाय वरदान साबित भएको छ । 'बाख्रापालनले मेरा छोराछोरीको पढाइ खर्च र घरको कामकाजमा ठूलो मद्दत पुगेको छ,' उहाँले खुशी हुँदै भन्नुभयो ।
त्यस्तै कृषि क्षेत्रमा आएको परिवर्तन पनि उल्लेखनीय छ । कल्पना रिजाल बुढाले बजारको तरकारी प्रयोग नगरी आफ्नै बारीको तरकारी प्रयोग गर्न थाल्नुभएको छ । कृषि प्राविधिकको सहयोगमा झोलमोल १, २, ३ जस्ता जैविक प्रविधिको प्रयोगले खेतीमा लाग्ने किराको समस्यालाई समेत समाधान गरेको उहाँले बताउनुभयो ।
ठाटीकाँध वडा नम्बर ६ मा रहेका हरियाली कृषि समूह र नव विहानी कृषि समूहले बचत गर्ने बानीको विकास गरेका छन् । हरियाली कृषि समूहकी अध्यक्ष धिर्जा रावतका अनुसार यी समूहहरूले प्रत्येक महिना १०० रुपैयाँ बचत समेत गर्ने गरेका छन् ।
लालिगुराँस कृषि समूहकी सदस्य मनसरा थापा अगरबत्ती बनाउने तालिमबाट उत्साहित हुनुहुन्छ । 'गाउँमै पाइने सामग्री प्रयोग गरेर अगरबत्ती बनाउन सिकेपछि हाम्रो दैनिक जीवनयापनमा ठूलो सहयोग पुगेको छ,' उहाँले भन्नुभयो । मनसराले अगरबत्ती उत्पादनलाई थप व्यवस्थित गर्न प्याकेजिङ मेसिन, बाँसबाट सिन्का बनाउने मेसिन र पिठो बनाउने मेसिनको आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै ठाटीकाँध ६ का धर्मराज थापाले परियोजनाले महिला र पुरुष दुवैको जीवनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो । 'पहिले धेरैजसो महिला पुरुषको भरमा चल्थे,' उहाँले भन्नुभयो, 'तर अहिले संघसंस्थाको हौसला, तालिम र बाख्रापालन जस्ता क्रियाकलापले गर्दा जीविकोपार्जनमा ठूलो मद्दत पुगेको छ । थापा आफैं पनि बाख्रापालनमा आकर्षित भएका छन् र हाल ३२ वटा बाख्रा पाल्दै आएका छन्। उनले यस वर्षदेखि फर्म दर्ता गरेर व्यावसायिक बाख्रापालन र कृषि खेती गर्ने योजना बनाउनुभएको छ ।
शिक्षा क्षेत्रमा पनि सहकार्य परियोजनाले महत्वपूर्ण भूमिका खेलेको छ । ठाटीकाँध गाउँपालिका वडा नम्बर ३ डाङग्रामा रहेको श्री जनता आधारभूत विद्यालयमा परियोजनाको टोलीले गरेको अनुगमनले विद्यालयमा सकारात्मक परिवर्तन आएको देखाएको छ । प्रधानाध्यापक रविलाल देवकोटाले संस्थाको सहयोगले विद्यालयलाई ठूलो हौसला मिलेको बताउनुभयो । उहाँले विद्यालयमा खेरबारको आवश्यकता रहेको पनि औंल्यानुभयो ।
शिक्षिका निरीमा रिजाल देवकोटाले स्थानीय सरकार र संस्थाको साझेदारीमा महिनावारी र छाउपडी प्रथा न्यूनीकरणका लागि रणनीति कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालय सामग्री, वृक्षारोपण र अन्य शैक्षिक कार्यक्रमलाई जोड दिने विचार व्यक्त गर्नुभयो । विद्यालयमा हाल ८५ जना विद्यार्थी भर्ना भएका छन् र पछिल्लो समयमा सिकाइको विकास, सरसफाइ व्यवस्थापन, वृक्षारोपण गर्ने बानीको विकास र कक्षाकोठा व्यवस्थापनमा सुधार आएको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो ।
सहकार्य परियोजनाले शिक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि सहयोग पुर्याएको छ । सहकार्य परियोजना संयोजक जीवराज रेग्मीका अनुसार एइआईनको टोलीले बिशाला स्वास्थ्य चौकीमा पनि अनुगमन गरेको छ र आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने योजना रहेको छ।
प्रतिक्रिया