अपांगता भएका व्यक्तिका लागि व्यावसायिक सीप तालिम सम्पन्न

दैलेख — दैलेखको नारायण नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि जीवन उपयोगी तथा व्यावसायिक सुधार तालिम सम्पन्न भएको छ ।
सि.वि.एम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा सञ्चालित हातेमालो हाम्रो आवाज, हाम्रो सहभागिता परियोजनाको सहजीकरणमा अपांगता भएका व्यक्तिहरु लक्षित दुई चरणको सीप विकास तालिम सम्पन्न भएको हो ।
चार दिने जीवन उपयोगी सीप विकास तालिम र त्यसपछिको व्यवसाय सुरु तथा सुधार तालिममा नारायण नगरपालिकामा गठन भएका अपांगता स्वावलम्बन समूहका २० जना सदस्य सहभागी भएका थिए ।
तालिमको क्रममा सहभागीहरूले आफ्नो जीवनमा आत्मनिर्भर बन्न र सशक्त व्यवसायीका रूपमा अगाडि बढ्न आवश्यक सीपहरू सिकेको बताएका छन् । नारायण नगरपालिका वडा नं. ६ का अमरबहादुर सार्कीले “जिविकोपार्जन गर्न र आत्मनिर्भर बन्न यस्तो तालिम अत्यन्त महत्वपूर्ण रहेको” धारणा व्यक्त गर्दै आफू उद्यमशीलताको बाटोमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागीहरूले अपांगता भएका व्यक्तिहरू पनि सक्षम उद्यमी बन्न सक्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सीप विकाससँगै आयआर्जन र सामाजिक सचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए ।
समापन समारोहमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले भन्नुभयो, “अझै पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिप्रति पुरानो दृष्टिकोण विद्यमान छ। हामीले सोच र व्यवहारमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ ।”
तालिममा प्रशिक्षक टेकराज आचार्य, खमबहादुर थापा र सुनमाया सुनारले अपांगता सम्बन्धी विविध विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम संयोजक भिमबहादुर के.सी.ले परियोजनाले आगामी दिनमा अपांगता भएका व्यक्तिहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि थप सहयोगी कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया