लैंगिक तथा यौनिक अल्पसंख्यक समावेशी शिक्षा सुनिश्चित गर्न माग

सुर्खेत – सोसेक नेपाल र कर्णाली इन्द्रेणी आवाज संस्थाले विद्यालय तहको शिक्षालाई अझ समावेशी र लैंगिक तथा यौनिक अल्पसंख्यकमैत्री बनाउन विभिन्न मागसहित कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
हाल नेपालमा लागू भइरहेको एकीकृत पाठ्यक्रमले समावेशीतालाई प्राथमिकता दिएको भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विषयमा उल्लेख भएका सामग्रीहरू अझै अपूरा, अस्पष्ट र भ्रमयुक्त छन् । उनीहरूले विद्यालयको पाठ्यपुस्तक तथा शैक्षिक अभ्यासलाई परिष्कृत गर्दै समुदायमैत्री बनाउनु आवश्यक रहेको कर्णाली इन्द्रेणी आवाजकी अध्यक्ष अञ्जली बिसीले बताइन् ।
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक विषय समेटिएको भए पनि त्यसको प्रस्तुति स्पष्ट, तथ्यमा आधारित र कक्षा उपयुक्त ढंगले गरिएको छैन। त्यसैले आधारभूत तहदेखि माध्यमिक तहसम्मको पाठ्यक्रममा विषयगत गहिराई, उमेर सान्दर्भिकता, जीवनोपयोगी ज्ञान र चित्रात्मक सामग्री समावेश गर्नुपर्ने माग गरिएको छ।
यस्ता छन् मागहरु
- समावेशी शिक्षा सिद्धान्तअनुसार पाठ्यक्रम तथा शैक्षिक सामग्री निर्माण
- यौनिकता र लैंगिकताको विषयलाई आधारभूत तहदेखि नै क्रमशः समावेश गर्ने व्यवस्था
- कक्षा ६ देखि १२ सम्मका लागि बृहत्तर यौनिकता शिक्षा समेटिएको पाठ्यक्रम निर्माण
- शिक्षकका लागि विषयगत तालिम, परामर्श सेवा र मैत्री संरचना विकास
- पाठ्यपुस्तकमा रहेका अपूर्ण, भ्रमयुक्त र अस्पष्ट विषयवस्तुको अद्यावधिक
- स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक विषय समावेश गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
प्रतिक्रिया