कृषिजन्य सामग्रीको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

तम्घास – गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिनुभयो ।
सङ्घीय सरकारको रु १९ लाख र पालिकाको रु १५ लाख गरी कुल रु ३४ लाखमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालनका लागि सबै वडामा उप–समिति गठन गरिएका छन् भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ । यसैगरी सबै टोलमा सङ्कलन केन्द्र राखिएका छन् । कृषि शाखा प्रमुख भण्डारीका अनुसार कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्ने क्षमता भएको एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रीसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको छ । एम्बुलेन्सले तरकारी मात्र नभएर मासु र दूध पनि निर्यात गर्न सक्नेछ ।
हाल किसान आफैँले एम्बुलेन्स सञ्चालन गरेका छन्, जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गरेको छ । सबै वडामा सङ्कलन भएका कृषिउपज बुटबलका बजारमा लगिने गरेको छभने सत्यवतीदेखि त्यहाँसम्म प्रतिकेजी रु तीनदेखि रु छसम्म भाडा तोकिएको छ । पालिकाले एम्बुलेन्समा सहजीकरण गरेसँगै किसानहरू लाभान्वित भएका स्थानीय मीना ढकालले बताउनुभयो । “अब तरकारी, दूध बिक्री गर्न सहज भएको छ । किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।”
अर्का कृषक मणिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण सुनिश्चित भएको बताउनुभयो । उहाँका अनुसार सत्यवती गाउँपालिकामा ६० वटा समूहमा ९०० किसान आबद्ध छन् । करिब सय जनाले एकल रूपमा पनि तरकारीखेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दूध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटबलसम्म पुग्ने गरेको छ ।
पालिकामा तरकारी, फलफूल, माछा, मासु, दूध र अण्डाबाट वार्षिक करिब रु १० करोड भित्रिएको पालिकाको तथ्याङ्क छ । पशु शाखा प्रमुख नारायण खनालले सत्यवतीले गत वर्षदेखि नै बुटबल हाटबजारको २८ नं सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको बताउनुभयो ।
प्रतिक्रिया