जोखिममा रहेका १६२ बालबालिकालाई खाद्यान्न वितरण

दैलेख - चामुण्डाबिन्द्रासैनि नगरपालिका, सेभ द चिल्ड्रेन र साेसेक नेपालकाे संयुक्त साझेदारीमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिकाका १६२ जना जोखिममा परेका बालबालिकालाई खाद्यान्न सहयोग वितरण गरिएको छ । नगरपालिकाका सबै वडामा रहेका बालबालिकालाई लक्षित गर्दै वितरण गरिएको उक्त कार्यक्रमले विशेष संरक्षण आवश्यक परेका परिवारलाई राहत पुर्याएको छ।
कार्यक्रमबाट टुहुरा, अभिभावकविहीन, आर्थिक रूपमा विपन्न तथा विद्यालय जान नियमित समस्या भोगिरहेका बालबालिकालाई प्राथमिकता दिइएको चामुण्डाबिन्द्रासैनी नगरपालिका नगरप्रमुख गणेश कुमार शाहीले बताउनुभयो । ''हाम्रो समाजमा बिहान खाए बेलुकी के खाने भन्ने अवस्थामा रहेका परिवार छन्। बच्चालाई विद्यालय पठाए पनि भोक पेटमा अध्ययनको गुणस्तर खस्कन्छ,'' शाहीले भन्नुभयो , ''त्यसैले खाद्यान्न सहयोग अपरिहार्य बन्यो।''
उहाँले खाद्यान्नले बालबालिकाको पोषणमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, ''राम्रो खाना खाएर बालबालिका विद्यालय जान्छन् भने उनीहरूको सिकाइमा पनि गुणात्मक सुधार आउँछ।'' साथै, उहाँले अभिभावकहरूलाई छोराछोरीको शिक्षामा प्रत्यक्ष सरोकार राख्न र महिनामा एक पटक विद्यालयमा गई प्रगति बुझ्न आग्रह गर्नुभयो ।
त्यस्तै नगर उपप्रमुख मनसरा कुमारी रेग्मीले आर्थिक अभावका कारण कुनै पनि बालबालिका विद्यालय बाहिर नपरोस् भन्ने लक्ष्यसाथ स्थानीय सरकारले साझेदार संस्थासँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो , ''विशेष संरक्षण आवश्यक बालबालिकाका लागि पालिकामा बालकोष स्थापना गरिएको छ र तत्कालीन अवस्था आएमा सहयोग गर्न तयार छौं।''
वडाका १८ जना बालबालिकालाई खाद्यान्न तथा केहीलाई शैक्षिक छात्रवृत्ति दिइएको छ। जोखिममा रहेका १२९ बालबालिकालाई आवश्यकतानुसार फरक–फरक सामग्री प्रदान गरिएको वडा नं ३ का अध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो ।
वडा नं ४ का एक अभिभावक जसविरे कामी, जो शारीरिक अपांगता भएका ५३ पुग्नुभयो । उहाँ भन्नुहुन्छ, “न घर छ, न काम गर्न सक्ने क्षमता। बच्चाहरू कहिले खाना खाएर विद्यालय जान्छन्, कहिले भोकै। मागेरै खाने अवस्था छ।”
वडा नं ३ की एकल महिला हिरादेवीले भन्नुभयो, “घर धन्दा एक्लैले चलाउन निकै कठिन हुन्छ। हाम्रो जस्तो पीडित अवस्थाका धेरै परिवार छन्, जसका बालबालिका पोषणयुक्त खाना खान पाएका छैनन्। स्थानीय सरकारबाट यस्तो सहयोग निरन्तर भए, ती बालबालिकाले पनि अरूजस्तै विद्यालय जान सक्थे।”
सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज उपाध्यायका अनुसार, कमजोर अवस्था भएका परिवारका बालबालिका भोकमरीको उच्च जोखिममा छन्। “खाद्यान्न सहयोगले उनीहरूलाई राहत दिनुका साथै स्थायीत्व प्रदान गर्न मद्दत गर्छ,” उहाँले बताउनुभयो ।
सोसेक नेपालका कार्यक्रम व्यवस्थापक निर्मल अधिकारीले भन्नुभयो, “विशेष संरक्षण आवश्यक बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो। यसले उनीहरूको जीवन रक्षा र स्वास्थ्य संरक्षणमा मद्दत गर्छ। साथै, विद्यालयमा उपस्थितिमा समेत उल्लेख्य सुधार ल्याउँछ।”
प्रतिक्रिया