नेपाली कांग्रेस पूर्व सभापति खड्काको निधन

नेपाली कांग्रेस पूर्व सभापति खड्काको निधन

दैलेख –  नेपाली कांग्रेस दैलेखका संस्थापक सदस्य एवंम पूर्व जिल्ला सभापति तथा पूर्व राज्य मन्त्री गणेश बहादुर खड्काको ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि फोक्सोसम्बन्धी समस्याबाट पीडित खड्काको आज बिहान दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिनुभयो ।

२०२५ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका खड्का २०२७ देखि २०३० सालसम्म नेपाली कांग्रेस दैलेखको उपसभापति तथा २०३३ देखि २०४८ सालसम्म जिल्ला सभापतिका रूपमा क्रियाशील रहनुभएको थियो । पञ्चायत शासनकालमा तीन पटक-२०३४, २०३७ र २०४२ सालमा गरी तीन वर्ष जेल जीवन बिताउनुभएको थियो ।

लोकतान्त्रिक आन्दोलनको सक्रिय अभियन्ता रहेका खड्का २०४८, २०५१ तथा पछिल्लो संविधानसभा निर्वाचनमा दैलेख क्षेत्र नं. १ बाट सांसदको रूपमा निर्वाचित हुनुभएको थियो । उहाँले संसदको लेखा समितिको सदस्य तथा भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी पनि  निर्वाह गर्नुभएको थियो।

प्रतिक्रिया