विविध कार्यक्रमसहित दैलेखमा मनाइयो गणतन्त्र दिवस
दैलेख – दैलेखमा १८औं गणतन्त्र दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ । गणतन्त्र दिवस–२०८२ मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव बहादुर शाहीले गर्नुभएको थियो ।
गणेशचोकबाट सुरु भएको प्रभातफेरीले दैलेख बजार परिक्रमा गरी जिल्ला समन्वय समिति सभाहलमा सम्पन्न कार्यक्रममार्फत दिवस मनाइएको हो । कार्यक्रममा सरकारी, गैरसरकारी तथा विभिन्न संघसंस्थाको उल्लेखनीय सहभागिता रहेको थियो ।
दिवसको अवसरमा अन्तर कार्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नारायण नगरपालिकाकी कार्यवाहक प्रमुख तप्ता कुमारी थापाले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताउँदै, यो व्यवस्थाले महिलाविरुद्धको हिंसा, छाउपडी प्रथा लगायतका कुरीतिविरुद्ध लड्ने आधार तयार पारेको बताउनुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रले गणतन्त्र नागरिकको साझा अधिकार सुनिश्चित गर्ने उत्कृष्ट व्यवस्था भएको उल्लेख गर्नुभयो । भूमि समस्या समाधान आयोगका अध्यक्ष बरुनाथ योगीले गणतन्त्र नेपाली जनताले रगत साटेर ल्याएको मूल्यवान उपलब्धि भएको धारणा राख्नुभयो।
नेकपा एमाले दैलेखका सचिव हिमालयजंग शाह, माओवादी केन्द्रका नेता टेकबहादुर खाण, समाजवादी पार्टीका अध्यक्ष मयाराम अधिकारी, मजदुर किसान पार्टीका सदस्य रत्ने श्रेष्ठलगायतका नेताहरूले गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमि र वर्तमान चुनौतीबारे धारणा राख्दै, इमान्दार नेतृत्व र सक्रिय नागरिक सहभागिताबाट मात्र यसको सार्थकता पुष्टि हुने बताउनुभयो ।
निजी क्षेत्रका प्रतिनिधिका रूपमा दैलेख उद्योग वाणिज्य संघ अध्यक्ष नरेन्द्र थापाले गणतन्त्रपछि व्यवसायमैत्री वातावरण बनेको धारणा राख्दै, संघले रेडक्रस माध्यमिक विद्यालयका ६ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख अध्यक्ष अमर सुनारले गणतन्त्रले प्रेस स्वतन्त्रता र नागरिक अधिकार विस्तारमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै कार्यायक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति दैलेखका का.वा. प्रमुख केशव बहादुर शाहीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा फुलबारी विद्या मन्दिर दैलेख विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको थिायो ।

आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

वालिकाहरुलाई छात्रवृत्ति तथा नागरिक बजेटमाथि छलफल कार्यक्रम सम्पन्न

बालबालिकाकै नेतृत्वमा चामुण्डाबिन्द्रासैनीमा मनाइयो विश्व वातावरण दिवस

प्रतिक्रिया