सभापति देउवाद्वारा नेता खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
खड्काको ८२ वर्षको उमेरमा दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उहाँ विगत केही वर्षदेखि ‘क्यान्सर’ रोगबाट पीडित हुनुहुन्थ्यो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा खड्काको निधनको खबरले दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनजनमा समवेदना प्रकट गर्नुभएको छ ।
स्व खड्काले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने कांग्रेसले जनाएको छ । विक्रम संवत् १९९९ साउन १९ गते जन्मनुभएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म दैलेखको जिल्ला पार्टी सभापति हुनुहुन्थ्यो ।
नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूका क्रममा उहाँले पटक–पटक जेलजीवन, प्रहरी हिरासत र यातनासमेत व्यहोर्नु भएको थियो । विसं २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र २०६४ मा संविधानसभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं १ बाट उहाँ निर्वाचित हुनुभएको थियो । विसं २०५६ मा उहाँ सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो ।
विसं २०५२ मङ्सिरमा उहाँ भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्यमन्त्री हुनुभएको थियो । स्व खड्काले पार्टीका विभिन्न पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका खड्काको निधनबाट कांग्रेसले एक कुशल सङ्गठनकर्ता, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको उल्लेख गरेको छ ।
प्रतिक्रिया