लिफ्टिङ मर्मत संभार कर्मचारीलाई सौर्य विद्युत र इलेक्ट्रोनिक तालिम

दैलेख — दैलेखमा लिफ्टिङ मर्मत संभार कार्यकर्ताहरुलाई लिफ्टिङ मर्मत संभार सम्बन्धी चारदिने तालिम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, सुर्खेत तथा सुस्वासको साझेदारीमा दैलेखमा कार्यरत खानेपानी तथा सिँचाइ योजनासँग सम्बन्धित लिफ्टिङ मर्मत संभार कर्मचारीहरूलाई चारदिने सौर्य ऊर्जा तथा इलेक्ट्रोनिक पम्प मर्मत र सञ्चालन सम्बन्धी तालिम दिइएको हो ।
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखको आयोजनामा सञ्चालित उक्त तालिममा जिल्लाका नौ वटा स्थानीय तह- नारायण, दुल्लु, भैरवी, आठबीस, महाबु, गुराँस, डुङ्गेस्वर, ठाँटीकाँध र चामुण्डा बिन्द्रासैनी नगरपालिकाभित्रका २५ वटा आयोजनाबाट २८ जना मर्मत संभार कर्मचारीहरू सहभागी थिए ।
तालिममा सहभागी दुल्लु–५ का मर्मत संभार कार्यकर्ता विष्णु पोखरेलले तालिमबाट नयाँ सीप सिक्न पाएको अनुभव सुनाउँदै भन्नुभयो, 'हामीले पहिले नसिकेका प्राविधिक पक्षहरू सिक्ने अवसर पायौं। पानी प्रणाली कसरी दिगो रूपमा सञ्चालन गर्ने, पम्प तथा प्लम्बिङको समस्या आए कसरी समाधान गर्ने भन्ने विषयमा उपयोगी ज्ञान प्राप्त भयो ।'
तालिममा सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यासमा पनि विशेष ध्यान दिइएको प्रशिक्षक चिज कुमार श्रेष्ठले जानकारी दिनुभयो । 'सहभागीहरूले तालिमपछि आफ्ना कार्यक्षेत्रमा गएर सिकेका सीपहरू प्रयोग गर्न सक्ने छन् भन्ने विश्वास लिएका छौं,' उहाँले बताउनुभयो ।
खानेपानी तथा सिँचाइ लिफ्टिङ योजनाहरूलाई दीर्घकालीनरूपमा सञ्चालन गर्न आवश्यक प्राविधिक दक्षता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण हुने कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, 'यस्ता तालिमहरूबाट लिफ्टिङ अपरेटरहरूको क्षमतामा वृद्धि भई, स्थानीय योजनाहरूलाई थप प्रभावकारी र दिगो बनाउन मद्दत पुगेको छ।'
प्रतिक्रिया