लोपोन्मुख राउटे समुदाय पहिलोपटक हस्तशिल्प कला प्रदर्शनीमा

काठमाडौँ - नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा पहिलोपटक राउटे समुदायका सदस्यहरूले हस्तशिल्प कला प्रदशनी गर्नुभएको छ । कर्णाली प्रदेशको सुर्खेतबाट आएका लोपोन्मुख राउटे समुदायका दीपक शाही, धयर शाही, बाटुली र सुरमानलगायत राउटे समुदायका युवा युवती पहिलोपटक प्रदर्शनीमा सहभागी हुनुभएको हो ।
उहाँहरुले काठमाडौँको बबरमहलस्थित प्रतिष्ठानको एक कुनामा काठ र कपडामा कला सिर्जना गरिरहनुभएको छ । पुरुषहरूले परम्परागत काठका कोसी, डाडु, सन्दुकजस्ता सामग्री बनाइरहँदा महिलाहरूले कपडामा मौलिक बुट्टा भरिरनुभएको छ ।
कला पारखीहरूका लागि राउटे समुदायको प्रत्यक्ष कला कार्यशाला नयाँ अनुभव र आर्कषणको केन्द्र बनेको छ । बसिलो र मुङ्ग्रोको सहयोगमा आकार दिइएका हस्तकला प्रदर्शनीमा राखिएका मात्र होइन, सबै २० वटा कोसी बिक्रीसमेत भएको राउटे युवा दिपक शाहीले बताउनुभयो । शाहीले खुशी हुँदै भन्नुभयो, “हामी खुसी छौँ, सामान बिक्री भयो र पुरस्कार पनि पायौँ ।”
यसपटक राउटेहरूले बनाएको हस्तकला प्रादेशिक पुरस्कार जित्न समेत सफल भए, जसअन्तर्गत ३० हजार रुपैयाँ राशिसहित सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
यसैबीच, प्रदर्शनीमा दिवंगत राउटे मुखिया सूर्यनारायण शाहीद्वारा बनाइएका सामग्रीहरू पनि प्रदर्शित गरिएको छ। ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले रैथाने कला उजागर गर्न संस्थाले थालेको प्रयास अझ सशक्त बनाइने बताउनुभयो ।
प्रदर्शनीमा देशभरका ६५ जिल्लाबाट ६५० भन्दा बढी कलाकृति समावेश गरिएका छन्, जसमा थारू, मिथिला, नेवार, राउटे, डोम, राई, तामाङ लगायतका जातीय कलाहरूको विशिष्ट सहभागिता छ। विविध विधाका कलाकर्महरूमा उत्कृष्ट कलाकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।प्रदर्शनी जेठ ३१ गतेसम्म जारी रहनेछ।
प्रतिक्रिया