वलीको 'सल्यान टाकुरी’ बोलको नयाँ गित सार्वजनिक

वलीको 'सल्यान टाकुरी’ बोलको नयाँ गित सार्वजनिक

सल्यान –   पत्रकारितामा झण्डै दशक लामो योगदान दिएका सल्यानका पवन कुमार वली अब गीतसंगीतको दुनियाँमा नयाँ उचाइतर्फ लम्किरहनुभएको छ । हालै उहाँले ‘सल्यान टाकुरी, जाल बुनी छेकने, कहाँ छेउ माकुरी’ बोलको मौलिक लोकगीत सार्वजनिक गर्नुभएको छ । जसले अहिले दर्शक–श्रोता माझ विशेष चर्चा पाएको छ ।

सर्जक वलीले गीतको शब्द, लय र स्वर सबै आफैंले दिनुभएको छ । जसले उहाँभित्रको बहुप्रतिभा उजागर गरेको छ । गितमा सुनिता बुढा क्षेत्री र वली आफैँले स्वर भर्नुभएको छ । अझ विशेष कुरा त के छ भने, गीतको मोडलिङ समेत उहाँ आफैंले गर्नुभएको छ, जसमा उहाँसँगै रिना गुरुङ र रामु खड्काले अभिनय गर्नुभएको छ । गीत वलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, र छोटो समयमा नै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

मौलिकपनले भरिएको सांगीतिक कोसिस

सल्यान टाकुरी’ गीतले नेपाली लोक संस्कृतिको सुगन्ध फैलाउने प्रयास गरेको छ । गीतमा प्रयोग गरिएका शब्द, भाकाहरु तथा दृश्यहरुले सल्यानको भौगोलिक, सांस्कृतिक र सामाजिक जीवन झल्काउँछन् । लोकधुन, पहिरन र परम्परागत भेषभूषाले दर्शकलाई गाउँको स्वाद दिन्छ । गीत हेर्दा र सुन्दा दर्शक आफैँ सल्यानको उकालो झरेको आभास गर्न सक्छन् ।

पवन कुमार वली लामो समयदेखि स्थानीय पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । पत्रकारितामै रहँदा उहाँले समाजका धेरै तह र तप्काको कथा बोल्नुभयो, तर भित्रभित्रै उहाँले संगितमा पनि उत्तिकै रुचि राख्दै आउनुभएको थियो ।

यही रुचिले उहाँलाई सर्जक बनायो । यसअघि पनि उहाँले ‘तिमीलाई के थाहा किन रुन्छु म’ र ‘साइलो दाइ’ जस्ता गीतहरु बजारमा आइसकेका छन् । जसले राम्रो सफलता पाएका थिए । ‘सल्यान टाकुरी’ ले उहाँलाई सांगीतिक यात्रामा नयाँ मोड ल्याइदिएको देखिन्छ ।

भिडियोे

 

प्रतिक्रिया