एटिएममा भेटिएको १० हजार बैँकमार्फत फिर्ता

एटिएममा भेटिएको १० हजार बैँकमार्फत फिर्ता

दैलेख  –  दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका लैनचौर निवासी तथा हाल जाजरकोट भेरी नगरपालिका–५ स्थित विजय माध्यमिक विद्यालय, काफलचौरमा गणित शिक्षकका रूपमा कार्यरत जगत योगीले एटिएममा भेटिएको नगद १० हजार रुपैयाँ सम्बन्धित बैंकमा बुझाएर ईमानदारिताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ।

शनिवार, सुर्खेतको एरिचोकस्थित लक्ष्मी सनराइज बैंकको एटिएमबाट आफ्नो खाताबाट रकम निकाल्न गएका योगीले मेसिनमै छुटेको अवस्थामा नगद भेट्टाउनुभएको थियो । आसपासमा कोही नभेटिएपछि उहाँले रकम सुरक्षित राखेर भोलिपल्ट बिहान लक्ष्मी सनराइज बैंक, जाजरकोट शाखामा पुगेर उक्त रकम आवश्यक प्रक्रिया पूरा गरी बुझाउनुभयो ।

“कसैको महिनौँको पसिनाको पैसा हुन सक्छ भन्ने सोचेर मैले बैंकलाई जिम्मा दिएँ,” उहाँले बताउनुभयो ।

बैंकले उक्त रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ र सेवाग्राहीलाई प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेको छ। शिक्षक योगीको यो पवित्र कार्यले समाजमा सदाचार र नागरिक जिम्मेवारीको प्रेरणादायी सन्देश दिएको छ।

प्रतिक्रिया