ठाटीकाँधमा एकीकृत पाठ्यक्रमसम्बन्धी पाँचदिने अभिमुखीकरण

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकामा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रमसम्बन्धी पाँचदिने अभिमुखीकरण तालिम संचालन भएको छ । ठाटीकाँध गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित तालिममा पालिकाका ६ वटै वडामा रहेका विद्यालयहरूमा कार्यरत ४० जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको छ ।
तालिममा एकीकृत पाठ्यक्रमका अवधारणा, अन्तरसम्बन्धित विषयवस्तुहरू कसरी एक आपसमा जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको तालिमका प्रशिक्षक दिनेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, दुई वा दुईभन्दा बढी विषयलाई व्यवहारिक रूपमा जोडेर कसरी बालबालिकामा सीप विकास गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित थियो ।
त्यस्तै, तालिममा एकसय प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, पोर्टफोलियोको प्रयोग, अक्षराङ्क पद्धतिबाट मूल्यांकन तथा त्यसका आधारमा ग्रेडसिट निर्माण प्रक्रियाबारे पनि विस्तृत जानकारी दिइएको थियो ।
गुणस्तरीय प्रारम्भिक शिक्षा सुनिश्चित गर्न तालिम प्रभावकारी हुने विश्वास आयोजकले व्यक्त गरेका छन्। यो तालिम जेठ २३ गते सम्म संचालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया