मकैबालीमा फौजी कीरा र असिना पानीको प्रकोपः किसान चिन्तित

मकैबालीमा फौजी कीरा र असिना पानीको प्रकोपः किसान चिन्तित

दैलेख –   दैलेख जिल्लाको नारायण नगरपालिका–२ स्थित जाहारकोटका किसानहरू पछिल्ला दिनमा मकैबालीमा फौजी कीरा र गबारोको प्रकोपले किसानहरु समस्यामा परेका छन्। बैशाखको अन्तिम सातादेखि अमेरिकी फौजी कीराको प्रकोप तीव्र बनेपछि किसानहरूले मकै उखेलेर पुनः मकै रोप्न थालेका छन् ।

स्थानीय किसान उदयबहादुर थापा (४८) ले बैशाख १० गतेतिर रोपिएको मकै गबारो किराले सखाप पारेपछि जेठ १५ मा पुनः मकै रोपेको बताउनुभयो   । 'पहिला यस्तो रोग लागेको थिएन । यसपालि मनकामना जातको मकैमा फौजी कीरा र गबारोले ठूलो क्षति पुर्‍यायो,' उहाँले भन्नुभयो  । पाँच सदस्यीय परिवार पाल्नुपर्ने जिम्मेवारी बोकेका थापाको पाँच रोपनी मकैबाली पूर्ण रूपमा नष्ट भएको छ।

थापाले आफ्नो दिबाकर कृषि तथा पशुपन्छी फार्म दर्ता गरे पनि बारम्बार जिल्ला कृषि विकास कार्यालयमा अनुदानको फारम भरेको भए तापनि ‘सक्कली किसान’लाई भन्दा अन्यलाई प्राथमिकता दिइएको गुनासो गर्नुभयो ।

त्यस्तै, सोही वडाका ५५ वर्षीय बखतबहादुर थापाको ६ रोपनी मकै र तरकारी बालीमा फौजी किरा र जेठ ७ गते परेको असिनाले व्यापक क्षति पुर्‍याएको छ। करेला, लौका, चिचिण्डा, काँक्रा लगायतका तरकारी र मकैबाली असिनाले सखाप पारेको उहाँले बताउनुभयो ।

३३ वर्षीया देविका थापा पनि असिनाले क्षति पुगेका किसानमध्ये एक हुन् । 'प्लास्टिक टनेलमा भएको बाहेक सबै तरकारी असिनाले नष्ट गर्‍यो,' उहाँले भन्नुभयो । उनले क्षतिको विवरण वडा कार्यालयमा निवेदनमार्फत बुझाएको बताउनुभयो ।

नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाले असिना, हुरीलगायतका कारण क्षति पुगेका बालिको विवरण संकलन भई सकिएको र क्षतिपूर्ति रकम चाँडै वितरण गरिने जानकारी दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले नारायण नगरपालिका–२ जाहारकोटका २१ जना किसानका ३६ रोपनी जग्गामा भएको तरकारी उत्पादनको मूल्यांकनको आधारमा करिब १ लाख ९४ हजार रुपैयाँ राहत वितरणको निर्णय भएको बताउनुभयो । राहत रकम केही दिनमै किसानहरूलाई उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जलवायु तथा मौसमको परिवर्तनका कारण जिल्लाका विभिन्न ठाउँमा फौजी कीरा र गबारोको असर देखिएको छ । पानी परेपछि किराको प्रकोप कम हुने अनुमान गरिएको छ । हालसम्म मकैमा लागेको किराको सम्बन्धमा कार्यालयमा औपचारिक उजुरी भने नआएको र अनुगमन जारी रहेको पाण्डेले जानकारी गराउनुभयो ।

यसैबीच, विपद् व्यवस्थापन समिति दैलेखले बाढी, पहिरो, असिना, हुरी, जंगली जनावरको आक्रमणजस्ता कारणले क्षति व्यहोरेका किसानहरूलाई राहतस्वरूप जिल्लाभर ५२ लाख १ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। राहत वितरण नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, भैरवी, ठाँटीकाँध, डुङ्गेश्वर, नौमुले, महाबु र गुराँस गाउँपालिकाका प्रभावित किसानलाई लक्षित गरिने बताइएको छ।

प्रतिक्रिया