प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने माग यथावत राखेपछि बैठक बस्न नसकेको हो ।
सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग बैठक गरे पनि सहमति नजुटेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने निर्णय गरेको थियो ।
प्रतिक्रिया