कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत -  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ, जसमा स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा नीति कार्यक्रम पेश गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने र सुर्खेत मेडिकल कलेज स्थापनाका लागि संघीय सरकारसँग पहल गरिने बताउनुभयो  ।

मिर्गौला प्रत्यारोपण, क्यान्सरको किमोथेरापी, जलन उपचार युनिट स्थापनाका साथै सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

स्वास्थ्य बीमा अभियान, पेन क्लिनिक सञ्चालन, घुम्ती स्वास्थ्य सेवा, एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम, र दीर्घ रोगीलाई सहायता प्रदान गरिने नीति समावेश गरिएको छ।

आयुर्वेद, प्राकृतिक चिकित्सा र वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गर्दै योग, ध्यान, तथा स्वास्थ्य अनुसन्धानको अभिलेखीकरणमा पनि जोड दिइएको छ।

मियाँले समावेशी, पहुँचयुक्त र गुणस्तरीय स्वास्थ्य प्रणाली विकास गर्ने प्रदेश सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ ।

प्रतिक्रिया