वृक्षारोपण र सरसफाइ गरेर गुराँसमा मनाइयो विश्व वातावरण दिवस

वृक्षारोपण र सरसफाइ गरेर गुराँसमा मनाइयो विश्व वातावरण दिवस

दैलेख  -  दैलेखको गुराँस गाउँपालिकामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गर्दै विश्व वातावरण दिवस २०२५ मनाइएको छ। गुराँस गाउँपालिका र सोसेक नेपालद्वारा सञ्चालित ‘ग्रिन कर्णाली परियोजना’को सहकार्यमा आयोजित कार्यक्रममा 'प्लास्टिक प्रदूषण अन्त्य गरौं' भन्ने नारासहित वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रम गुराँस गाउँपालिका वडा नं-  ४ स्थित गाइबान्ना दोबाटोमा रहेको मैयुर कृषक समूहको परिसरमा आयोजना गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष टोपबहादुर बीसी, उपाध्यक्ष शिवाकुमारी खड्का, वडा अध्यक्ष कासिराम शर्मा, सोसेक नेपालका कार्यक्रम संयोजक पुष्कर शर्मा, स्थानीय कृषकहरू लगायतको सहभागिता रहेको थियो  ।

गाउँपालिका अध्यक्ष बिसीले वातावरण संरक्षण अनिवार्य भइसकेको उल्लेख गर्दै जलवायु मैत्री गतिविधिहरूलाई प्राथमिकता दिइरहेको गाउँपालिकाको नीति स्पष्ट गरे । उहाँले स्थानीयको सहकार्यबिना दिगो वातावरणीय सुधार सम्भव नभएको भन्दै सक्रिय सहभागिताको आह्वान गर्नुभयो ।

उपाध्यक्ष शिवाकुमारी खड्काले वातावरणीय कृषि तथा अर्गानिक खेती प्रणालीको आवश्यकता औँल्याउँदै, विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुभयो। उहाँले जैविक खेतीलाई प्रोत्साहन गर्ने गरी वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो ।

यसै अवसरमा, गुराँसे बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिएको थियो। गाउँपालिकाको संयोजनमा सोसेक नेपाल, विभिन्न गैरसरकारी संस्था, प्रहरी, कर्मचारी, नागरिक समाज तथा स्थानीय बासिन्दाको सहकार्यमा बजार क्षेत्र सरसफाइ गरिएको थियो ।

कार्यक्रमको समन्वय ग्रिन कर्णाली परियोजनाका संयोजक पुष्कर शर्माले गर्नुभएको थियो । सरसफाइ र वृक्षारोपण कार्यक्रममार्फत वातावरणीय सचेतना फैलाउने र स्थानीय तहमा हरित अभियानलाई बल पुर्‍याउने उद्देश्य राखिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया