दैलेखमा भरुवा बन्दुक पड्किदा एकको मृत्यु

दैलेख – सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर दैलेखमा एक जनाको मृत्यू भएको छ । जेठ २२ गतेराति जंगली जनावरको सिकारबाट घर फर्किने क्रममा ओरालो बाटो झरिरहेको बेला चिप्लिएर सँगै भएको साथीको बन्दुक पड्किँदा पछिल्लतिरको साथीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
महाबु गाउँपालिका वडा नं.४ बतासे स्थित आफ्नो गाउँबस्तीमा पुग्नै लागेको बेला अघिल्तिरको ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा बन्दुक पड्किएर सँगै भएको साथी पूर्णबहादुर थापा बलामीको छातिमा छर्रा लागेर घटनास्थमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताउनुभयो ।
लेखको जंगलमा सिकार गर्न गएका ६ जना मध्ये २ भागमा विभाजन भएर सिकार गर्न गएका थिए । सिकार नलागेर रित्तै फर्किएका घर पुग्न केहीदुरी मात्र बाँकी रहँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सूर्यबहादुर चिप्लिँदा पड्किएको बन्दुकको गोलीले पूर्णबहादुर थापाको छातिको अघिल्लो भागबाट ढाड छेडेको घटनाका प्रत्यक्षदर्शी ओमबहादुर बलामीसंग प्रहरीले थप सोधपुछ सुरु गरेको छ ।
प्रतिक्रिया