बालबालिकाकै नेतृत्वमा चामुण्डाबिन्द्रासैनीमा मनाइयो विश्व वातावरण दिवस

दैलेख - हरेक वर्ष जुन ५ का दिन विश्वभर मनाइने विश्व वातावरण दिवस यस वर्ष दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा विशेष रुपमा मनाइएको छ । यसपालिको ५२औं संस्करण “प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने विश्वव्यापी अभियानसहित मनाइँदै गर्दा चामुण्डाबिन्द्रासैनीमा बालबालिकाकै नेतृत्वमा विविध सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।
सधैंझैँ संस्थागत स्तरमा मात्र सीमित नरही, यस पटक बालबालिकाले जलवायु परिवर्तनका असरबारे गहिरो बुझाइसहित आफ्नै आवाजमार्फत समुदायमा चेतना फैलाउने प्रयास गरेका थिए । जलवायु न्यायप्रति उनीहरूको जागरुकता र सक्रियता स्पष्ट रुपमा कार्यक्रमहरूमा झल्किएको थियो ।
सेभ द चिल्ड्रेन, सोसेक नेपाल र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको संयुक्त साझेदारीमा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत वातावरण दिवसको अवसरमा विभिन्न विद्यालयहरुसँगको सहकार्यमा बाल क्लबहरूको नेतृत्वमा चित्रकला प्रतियोगिता, वृक्षारोपण, सरसफाइ अभियान तथा जनचेतनामूलक र्याली आयोजना गरिएको थियो ।
चित्रकला प्रतियोगितामा बालबालिकाले हिमालदेखि तराईसम्म फैलिएको प्लास्टिक प्रदूषण, जलथलका जीवजन्तुमा परेको असर, प्लास्टिक जलाउँदाको असर, वातावरणको अघिल्लो र पछिल्लो अवस्था लगायत गम्भीर विषयवस्तुलाई उजागर गरे । उनीहरूले आफ्ना कलामार्फत प्लास्टिक विरुद्धका कदम र समाधानका सन्देश पनि प्रवाह गरेका थिए।
बालबालिकाको सक्रियतामा विद्यालयहरूमा हरियाली र सरसफाइ सम्बन्धी कार्यक्रम सुरु गरिएको छ। विद्यार्थीहरूले आफ्नो विद्यालय परिसरलाई स्वच्छ र हराभरा बनाउन स्वयंसेवकको रुपमा पहल गरिरहेका छन् । यसबाट उनीहरूको व्यवहारिक सिकाइ र सामुदायिक नेतृत्वदक्षता झनै मजबुत हुँदै गएको देखिन्छ ।
बालबालिकाले वातावरणसँग जोडिएको आफ्नै अनुभूति र बुझाइलाई सिर्जनात्मक ढंगले अभिव्यक्त गर्नु, उनीहरूमा जलवायु न्यायप्रति विकसित भइरहेको चेतनाको प्रमाण दिइएको बताइएको छ । उनीहरूको सशक्त सहभागिता हेर्दा स्पष्ट देखिन्छ कि अब बाल आवाज जलवायु न्यायको वकालतमा एउटा प्रभावकारी माध्यम बन्ने दिशातर्फ अघि बढिरहेको छ।
कार्यक्रममा सहभागी बालबालिकाको उत्साह, उमंग र वातावरणप्रतिको बढ्दो चासोले चामुण्डाबिन्द्रासैनी नगरपालिका भित्र प्लास्टिकजन्य फोहोरको व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । साथै, बालबालिकाको नेतृत्वमा भएका यस्ता प्रयासले समुदायमा दीर्घकालीन सचेतना र व्यवहार परिवर्तन ल्याउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया