स्व. खड्काप्रति श्रद्धाञ्जलि, ‘दैलेखले अभिभावक गुमायो’

स्व. खड्काप्रति श्रद्धाञ्जलि, ‘दैलेखले अभिभावक गुमायो’

दैलेख –   नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व मन्त्री तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्व। गणेशबहादुर खड्काको निधनको ११ औँ दिनमा आइतबार दैलेखमा श्रद्धाञ्जलि सभा गरिएको छ ।

श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधिसभा सदस्य शशाङ्क कोईरालाले स्व. खड्काको निधनले पार्टीले एउटा आदर्श, निर्भीक र विकासप्रेमी नेता गुमाएको बताउँदै, “खड्काको योगदान सधैं पार्टी र देशले सम्झिरहनेछ,” भन्दै गहिरो श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

नेपाली कांग्रेस मुगुका पुर्व पार्टी सभापति पूर्व राज्यमन्त्री तथा स्व. गणेश बहादुर खड्काका सहकर्मी हस्तबहादुर मल्लले खड्काको निधनलाई दैलेखको लागि अपूरणीय क्षति भएको बताउँनुभयो । उहाँले गरेका विकास र राजनीतिक योगदान आज पनि प्रेरणादायी छन्,ू मल्लले भन्नुभयो।

नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले खड्कालाई ‘लोकप्रिय, दूरदर्शी र नीतिगत नेताको प्रतिमूर्ति’ को रूपमा स्मरण गर्दै, “हामीले मात्र होइन, समग्र कांग्रेस परिवारले एक अमूल्य र आदरणीय नेतृत्व गुमाएका छौं,” उहाँले भन्नुभयो।

श्रद्धाञ्जलि सभामा केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय नेतृ सीता कुमारी राना, जिल्लाका अन्य प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू, पूर्व मन्त्री, पार्टी सभापति, कार्यकर्तासहित हजारौंको उपस्थिति थियो ।

स्व. खड्का २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्य तथा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै भौतिक योजना तथा निर्माण, यातायात सहायक मन्त्री र स्थानीय विकास राज्यमन्त्री समेत रहनुभएको थियो ।

नेपाली कांग्रेसले उहाँलाई दैलेख जिल्लाको अमूल्य राजनीतिक धरोहर, निष्कलङ्ग व्यक्तित्व र युगान्तकारी नेतृत्वको रूपमा स्मरण गर्दै उहाँको चिरशान्तिको कामना गरेको छ । स्व. खड्काको निधन ८२ वर्षको उमेरमा, जेठ १५ गते आफ्नै निवासमा भएको थियो ।

प्रतिक्रिया