ठाटीकाँधमा बजेट अधिवेशनका लागि समन्वय बैठक सम्पन्न

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी बजेट अधिवेशनका लागि समीक्षा तथा समन्वय बैठक सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा भएको यो बैठकमा पालिका कार्यक्षेत्रमा परियोजना सञ्चालन गरिरहेका विभिन्न संघसंस्थाहरूबीच समन्वय गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालको अध्यक्षतामा सम्पन्न बैठकमा वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू र कार्यरत संस्थाहरू सोसेक नेपाल, सामुदायिक बहुउद्देश्यीय सेवा तथा एभरेष्ट क्लबका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकमा सहभागी संस्थाहरूले आ(आफ्ना सञ्चालित क्रियाकलाप, उपलब्धि, र आगामी योजनाबारे सुझावसहित विस्तृत छलफल प्रस्तुत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष देविराम बडुवालले बैठकमा बोल्दै समन्वयको महत्त्वमाथि जोड दिनुभयो । उहाँले भन्नुभयो , 'गाउँपालिकाको विकासका लागि यहाँ कार्यरत सबै संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण छ। आगामी बजेट अधिवेशनमा हामीले यिनै छलफल र सुझावहरूलाई आधार बनाएर समृद्ध र समावेशी विकासका योजनाहरू निर्माण गर्नेछौँ। सबैको सहकार्यले मात्र दिगो विकास सम्भव छ।'
प्रतिक्रिया