दैलेखको मष्टा आधारभुत विद्यालय रावतकोटमा सामग्रि बितरण

दैलेख– दैलेख जिल्लाको भैरवी गाउँपालिका–१, रावतकोटस्थित मष्टा आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । एईआइएन लक्जेम्बर्र्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाअन्तर्गत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो।
मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य माननीय सीता कुमारी राना, वडा नं. २ का वडा अध्यक्ष मिन बहादुर थापा, वडा सदस्यहरू, आधार परियोजनाकी संयोजक मेनका क्षेत्री, विद्यालयका प्रधानाध्यापक उदय रेग्मी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन थापा तथा अन्यको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।
विद्यालयलाई प्रदान गरिएका सामग्रीहरूमा दराज, सिकाइ उपलब्धि चार्टहरू, जुट कार्पेट, पी–फर्म, प्लास्टिक कुर्सी, डोरम्याट लगायतका वस्तु समावेश छन्। परियोजना संयोजक मेनका क्षेत्रीका अनुसार, यी सामग्रीले सिकाइ प्रक्रियामा सहजता ल्याउने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य रानाले सोसेक नेपालले यसअघि पनि स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको बताउँनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्कारले हामीले शिक्षा क्षेत्रमा गरेका प्रयासको नतिजा देखाउँछ। अबको शिक्षा किताबी ज्ञानमा मात्र सीमित नरही प्रयोगात्मक सिकाइतर्फ केन्द्रीत हुनुपर्छ।”
वडा अध्यक्ष मिन बहादुर थापाले सामग्री हस्तान्तरणसँगै विद्यालयमा बालबालिकाको बसाइ व्यवस्थापन सहज हुने आशा व्यक्त गर्नुभयो । उहाँले विद्यालयको अतीतको दयनीय अवस्थाले चिन्ता पैदा गरेको भए तापनि आधार परियोजनाको प्रभावले अब शिक्षा क्षेत्रमा नयाँ आशा पलाएको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक उदय रेग्मीले परियोजनाबाट प्राप्त सहयोगले सिकाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन थापाले विद्यालयको जिर्ण अवस्थालाई ध्यानमा राख्दै सोसेक नेपालद्वारा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै, “हामी सबैले प्राप्त सामग्रीको सही सदुपयोग गरी विद्यार्थीको सिकाइमा उपलब्धिमूलक नतिजा ल्याउनेछौं,” उहाँले भन्नुभयो।
प्रतिक्रिया