मानव अधिकार रक्षकहरुको सुरक्षा सवालमा छलफल

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालमा छलफल

दैलेख – मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सराकारवालावीच छलफल भएको छ । यूरोपियन यूनियनको राजदूतावासका राजनीतिक विभाग प्रमुख टोमास मिलर सहितको उपस्थितिमा आज दैलेख सदरमुकाममा नागरिक समाज र सुरक्षा अधिकारीहरुसंग त्यस्तो छलफल भएको भएको हो । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फिनल्याण्ड राजदूतावासका प्रतिनिधि इन्बुस्क पेट्रा, स्वीस राजदूतावासका प्रतिनिधि प्रतीज्ञा सिमखडा बासकोटा समेतको उपस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरुम, को–क्याप समेतको सहभागितामा कार्यक्रम भएको थियो । 
न्यायको निम्ति जुटेका मानव अधिकार रक्षकहरु पीडकहरुको पक्षमा उभिएका शक्ति समूहबाट असुरक्षा हुने गरेको नागरिक समाजका अगुवाहरुले टोलीसंग समस्या दर्शाए । यूरोपियन यूनियनको राजदूतावासका राजनीतिक विभाग प्रमुख मिलरले मानव अधिकार रक्षकको सुरक्षा राज्यको दायित्व भएको बताउनुभयो । 


नागरिक समाजसंगको छलफलपछि टोलीले दैलेख प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बरालसंग मानव अधिकार रक्षकहरुको सुरक्षा प्रत्याभूती दिलाउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गैह्रेले सबैलाई न्याय दिलाउन जटेका मानव अधिकार रक्षकहरुको सुरक्षाप्रति प्रहरी प्रशासन सधैं सम्वेदनशील रहेको चर्चा गर्नुभयो । 
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रमुख रमेशकुमार थापा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजय गौतम, मानव अधिकार विभागका प्रमुख मदन पौडेल, कर्णाली प्रदेश संयोजक नारायण सुबेदी, एडभोकेसी फोरुमका बसन्त गौतम, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, कोक्यापका पवित्रा कार्की  लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया