खाडाचक्रमा बाल हेल्पलाइन सम्बन्धी जानकारी र लैङ्गिक हिंसा विरुद्ध घरदैलो कार्यक्रम

खाडाचक्रमा बाल हेल्पलाइन सम्बन्धी जानकारी  र लैङ्गिक हिंसा विरुद्ध घरदैलो कार्यक्रम

कालिकोट –  कालिकोटको खाडाचक्र नगरपालिकामा बाल हेल्पलाइन र लैङ्गिक हिंसा विरुद्ध घरदैलो कार्यक्रमगरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा कालिकोटमा संचालित आधार परियोजनाको आयोजनामा बाल हेल्पलाइन र लैङ्गिक हिंसा विरुद्ध घरदैलो अभियान थालिएको हो । 
 
खाडाचक्र नगरपालिका वडा नं. – ५ को बिहानि क्षेत्रमा बालबालिका तथा महिलामाथि हुने हिंसा विरुद्ध सचेतना जगाउन घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बाल हेल्पलाइन १०९८ र टोल फ्री नम्बर १६६०८९४२००१ सहित लैङ्गिक हिंसा सम्बन्धी जानकारी दिइएको थियो ।

सामाजिक रूपान्तरणका लागि स्थानीयस्तरमै पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सोसेक नेपालद्वारा संचालित आधार परियोजना मार्फत बालबालिका र महिलाहरूले भोग्न सक्ने हिंसा, दुर्व्यवहार तथा उपेक्षाविरुद्ध कसरी सजग र सक्षम बन्न सकिन्छ भन्नेबारे सहभागीसँग अन्तरक्रिया गरिएको आधार परियोजना कालिकोटले जनाएको छ ।

कार्यक्रममा सहभागी स्थानीयबासीलाई टोल फ्री नम्बरमार्फत कसरी समस्या साझा गर्न सकिन्छ, कसरी सहयोग पाउन सकिन्छ भन्ने विषयमा स्पष्ट जानकारी दिइएको थियो । बाल हेल्पलाइन १०९८ को प्रयोगबारे विस्तृत जानकारी दिँदै सहभागीहरूलाई कुनै पनि हिंसा वा शंकास्पद गतिविधि देखेमा तुरुन्त जानकारी गराउन आग्रह गरिएको आधार परियोजनाले जनाएको छ ।

आधार परिेजनाका अनुसार हिंसा तथा शोषणमा परेका बालबालिकाको उद्धार, संरक्षण र परामर्श सेवा सुनिश्चित गर्न १०९८ प्रभावकारी माध्यम हो । साथै, महिलाहरूको हकहित र सुरक्षाका लागि उपलब्ध सरकारी सेवा प्रणाली र सोसेकमार्फत प्रदान गरिने सहयोगसमेत प्रस्तुत गरिएको थियो ।

घरदैलो कार्यक्रम पश्चात् स्थानीयले बालबालिका र महिलामाथि हुने हिंसाका घटनाहरू विरुद्ध बोल्न प्रेरणा मिलेको भन्दै यस्ता कार्यक्रम निरन्तर चलिरहनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया