जीविकोपार्जन परियोजनाको स्थलगत अनुगमन, कृषकहरू उत्साहित

जीविकोपार्जन परियोजनाको स्थलगत अनुगमन, कृषकहरू उत्साहित

दैलेख –   नेपाल जीविकोपार्जन परियोजना (एनएलआरपी –२) को स्थलगत अनुगमन गरिएको छ । सोसेक नेपालको अनुगमन समितिले नेपाल जीविकोपार्जन उत्थानशीलता परियोजना अन्तर्गत भगवतिमाई गाउँपालिका–६ चिपीनतडामा सञ्चालित हरीयाली एकीकृत सत्रुजीव कृषक पाठशाला, लहरे बाली काक्रा खेती, व्यावसायिक बाख्रापालन तथा जनचेतनशिल कृषि बहुउद्देश्यीय सहकारी संस्थाको स्थलगत अनुगमन गरेको हो ।

अष्ट्रेलियन एड र कारीतास नेपालको साझेदारीमा सञ्चालित उक्त परियोजनाको अवलोकनमा सोसेक नेपालका उपाध्यक्ष कविराज रिजाल, कोषाध्यक्ष संगिता राना, कार्यसमिति सदस्य लक्ष्मी भण्डारी, आन्तरिक नियन्त्रक संजोक मुखिया, लेखा संयोजक सुमन थकाली र परियोजनाका फोकल पर्सन पृथबहादुर थापा सहभागी रहनुभएको थियो ।

अनुगमनपछि उपाध्यक्ष रिजालले कृषिबाट स्थानीयको जीवनस्तरमा सुधार आएको देख्दा खुसी लागेको बताउनुभयो । सहकारी सदस्य जगत केसीले बाख्रापालन र खेतीबाट एक सिजनमै ७०–८० हजार आम्दानी भएको र छोराछोरीको पढाइ तथा घर खर्च सहजै चलिरहेको जानकारी दिनुभयो।

स्थानीय यमराज खत्रीले खत्री बाख्रापालन फर्ममार्फत एक लाख ५० हजार लगानीबाट सुरु गरेको व्यवसाय सफल बन्दै गएको र गाउँमै बसेर स्वरोजगार बन्न सकिने सम्भावना देखिएको बताउनुभयो ।

सहकारी अध्यक्ष बमबहादुर खत्रीले आगामी दिनमा फलफुल खेतीमा पनि सम्भावना देखिएको भन्दै थप सहयोगको अपेक्षा गर्नुभयो । सहकारीमा १२५ सदस्य मध्ये ३१ जना कृषि तथा पशुपालनमा सक्रिय छन् भने कृषक पाठशालामा २६ जना सहभागी छन् ।

अनुगमनको क्रममा पोलीहाउसको अवस्था, कृषकहरूको प्राविधिक सीप वृद्धि, आयआर्जन र कृषिको सम्भावना लगायतका विषयको मूल्यांकन गरिएको थियो।

यसैबीच, परियोजनाले आर्थिक रूपमा कमजोर तर जेहेन्दार १० विद्यार्थी (छात्रा ४ र छात्र ६) लाई श्री नेपाल राष्ट्रिय पीपल आधारभूत विद्यालय, भगवतिमाई–६ चिपीनमा शैक्षिक सामग्री वितरण गरेको छ।

प्रतिक्रिया