कसरी निन्द्रामा हराएँ ?

भाडाकुटी खेल्दै थिएँ, निदाएछु।
उठ्दा म-
मेरो बालापनमै थिइनँ !
निन्द्राबाट ब्यूँझिएँ पनि त,
फेरि सपनामै पो उठेछु ।
हैन, एक हप्ता भइसक्यो,
यो सपना किन सकिँदैन ?
यो कुन गाउँ हो-
कुन चुपचाप आँगन,
जहाँ न घाँस काट्न निस्केकी आमा छिन्,
न त कराउँदै खेल्ने भाइ।
पल्लाघरे काकी अझै पनि उठेकी छैन-
उनको हाँसो कहाँ छ ?
आमा !
म कहाँ छु ?
भोक लागेको छ,
तर घर सुनसान छ-
धुवाँ नउठेको चुलो,
धर्तीमा सूनसान पाइला ।
मेरो आमा कहाँ होलिन ?
के यो सपना हो-
कि म सपनामै हराइरहेको छु ?
अचानक म चिच्याएँ-
म त बालक थिएँ नि,
तर कसैले चिउरा, दही, र रातो सारी ल्यायो।
अनि भन्यो,
“अब त तिमी बिहे गर्छ्यौ।”
'तर म त खल्लो अचार पनि नखाने !'
म त अझै हप्केर बोल्ने !
म त अझै लखेटेर कुकुर डराउने !
लाज मानेँ-
तर लाज होइन, डर लाग्यो।
किनभने मेरो 'खेल'
अचानक 'संस्कार' मा फेरिएको थियो।
सोध्न मन लाग्यो-
'के म पढ्न पाउदिन ?'
'कपडाभन्दा ठूलो लुगाको अर्थ किन बुझ्नुपर्छ मलाई ?'
किन म खेल्दा-खेल्दै जन्ती आउँछन्'
मेरो साथी अझै अकबर बीरबल पढ्दैछे,
उसले हिजो मात्रै
पाठशालामा कविता लेखेकी थिई-
'आमा ! म डाक्टर बन्न चाहन्छु ।'
म भन्थेँ,
'म त आमा सँग सुत्छु,'
तर भोलिबाट त कोठा बदलिन्छ रे-
काख बदलिन्छ रे-
नाम बदलिन्छ रे-
तर उमेर
उमेर त उही !
लाटी जस्ती, खेलमै रमाउने !
कसैको सिउँदो हेर्न मन लाग्दैन-
किनकि मलाई
आफ्नो निधार भारी लाग्न थालेको छ ।
सोध्न डर लाग्यो-
'कसरी म बालक हुँदाहुँदै बुहारी भएँ ?
किन मेरो खेलको गन्तीमा
तपाईंहरू धर्म र परम्परा गनिरहनुहुन्छ ?
म अब उठ्छु-
निन्द्राबाट होइन -
सपना च्यातेर !
अब म भाडाकुटी होइन-
कथा लेख्छु,
मेरो कथा -
जहाँ बिहे होइन, किताब छ।
जहाँ सिन्दूर होइन,
सपनाको रङ छ !
प्रतिक्रिया