नाभिस्थान मन्दिरमा नेपाली सेनाद्वारा सेड घर र सरस्वती मूर्ति निर्माण

दैलेख – नेपाली सेनाको ‘सिघ्र प्रभावी कार्यक्रम’ अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१० स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नाभिस्थान मन्दिर परिसरमा सेड घर निर्माण गरिएको छ। सेड घरसँगै सरस्वती देवीको मूर्ति पनि स्थापना गरिएको हो ।
हिजो एक औपचारिक समारोहका बीच मन्दिर परिसरमा स्थापना गरिएको सरस्वती मूर्तिको अनावरण नगर प्रमुख भरतप्रसाद रिजाल, उपप्रमुख बिना कार्की तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन कुमार योगीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।
समारोहमा नगरप्रमुख रिजालले नेपाली सेनाको श्री कालीदत्त गुल्मद्वारा धार्मिक र पर्यटकीय महत्वको स्थल नाभिस्थानमा सेड घर निर्माण तथा मूर्ति स्थापनाको पहलप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “धार्मिक क्षेत्र र पञ्चकोशी सभ्यताको संरक्षण तथा विकासमा स्थानीय तह, प्रदेश र संघीय सरकार सक्रिय छन्।” उनले यस्ता प्रयासहरूले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगीले पनि सेनाको योगदानको सराहना गर्दै भन्नुभयो, “धार्मिक स्थलको संरक्षणमा सबै सनातनी हिन्दूहरूको महत्त्वपूर्ण भूमिका हुनु आवश्यक छ। सेनाको यो पहल सकारात्मक उदाहरण बनेको छ।”
कार्यक्रममा साहित्यकार तथा ‘हटारु’ उपन्यासका लेखक ओमप्रसाद रिजाल, साहित्यकार डाक्टर नवराज लम्साल, साथै शस्त्र प्रहरी बल आश्रित गुल्मलाई पञ्चकोशी चिनो प्रदान गरिएको वडा अध्यक्ष दिपेन्द्रकुमार पुरीले जानकारी दिनुभयो ।
उक्त सम्पूर्ण निर्माण कार्य नेपाली सेना श्री कालीदत्त गुल्म, दैलेखको नेतृत्वमा सम्पन्न गरिएको हो । आयोजनाले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको नाभिस्थान क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया