विपद्को जोखिममा रहेका किसानलाई कृषिमा प्रोत्साहन

विपद्को जोखिममा रहेका किसानलाई कृषिमा प्रोत्साहन

राँझा -  राप्ती सोनारी र डुडुवा गाउँपालिकामा विपद्को जोखिममा रहेका किसानलाई विषादीमुक्त व्यावसायिक कृषिमा प्रोत्साहन गरिएको छ । 

राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका नागरिकलाई सिआरएस नेपालसँगको साझेदारीमा कारितास नेपालले प्रिपेयर परियोजनामार्फत विषादीमुक्त व्यावसायिक कृषिमा प्रोत्साहन गर्दै आएको हो ।

कारितासका परियोजना संयोजक शुभम पौडेलका अनुसार परियोजनाअन्तर्गत राप्ती सोनारी र डुडुवा गाउँपालिकामा राप्तीको डुबान र कटानको जोखिममा परेका समुदायलाई विषादीमुक्त कृषिबाट आत्मनिर्भर बनाउन सीप सिकाउने, त्यसको बजारीकरण, व्यवस्थापन र विपद्बाट हुने क्षति कम गर्न सचेतनामूलक जानकारी दिने गतिविधि सञ्चालन भएका छन् । 

कृषि र विपद्सम्बन्धी सचेतनामूलक जानकारी गाउँपालिकाका वडास्तरमा रहेका विपद् व्यवस्थापन समितिमार्फत बस्तीस्तरमा सञ्चालन गर्ने गरिएको परियोजनाकी सामाजिक सहजकर्ता स्नेही रिजालले बताउनुभयो । 

विपद्को जोखिममा रहेका किसानलाई विषादीमुक्त व्यावसाययिक कृषि गर्न प्रेरित गर्ने र विपद्का क्षेत्रमा आइपरेका समस्या मापन गरी आगामी दिनमा क्षति कम गर्न वडास्तरमा रहेका कृषि सहकारी संस्था र विभिन्न समूहमार्फत काम भइरहेको उहाँको भनाइ छ । 

राप्ती सोनारी–७ फत्तेपुरको देउपूर्वा निवासी किसान श्याम वेहनाले परियोजनाबाट मौसम सम्बन्धिन जानकारी लिएर धान, गहुँलगायत बाली भित्र्याउने कार्यमा पूर्वसतर्कता अपनाउन सहज भएको बताउनुभयो । 

राप्ती सोनारी–६ मा रहेको साकार कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक जमानसिंह वलीले कारितास नेपालले सहकारी संस्थासँग समन्वय गरेर गतिविधि सञ्चालन गर्नसके लक्षित समुदाय लाभान्वित हुने बताउँदै आफूहरू आवश्यक समन्वयका लागि तयार रहेको उल्लेख गर्नुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले राप्ती सोनारी र डुडुवा गाउँपालिका कृषिका लागि उपयुक्त क्षेत्र भएकाले कृषिमा काम गर्ने सबै सङ्घसंस्थाले सहकार्य र समन्वय गर्नसके किसान लाभान्वित हुने बताउनुभयो । 

प्रतिक्रिया