बालमैत्री वडा घोषणा गर्न सरोकारवालासँग अन्तरक्रिया

बालमैत्री वडा घोषणा गर्न सरोकारवालासँग अन्तरक्रिया

 

दैलेख –    दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. – ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ सरोकारवालासँगको अन्तरक्रिया तथा समिति बैठक सम्पन्न भएको छ । बाल अधिकारको प्रवर्द्धन र बालमैत्री संरचना निर्माणका लागि वडा स्तरमा गरिएको यो पहललाई समावेशी सहभागितामूलक बनाइएको छ ।

वडा नं. ४, जगन्नाथमा आयोजित उक्त कार्यक्रममा आमा समूह, बाल क्लब, नागरिक समाज, विषयगत सरकारी कार्यालय, जनप्रतिनिधि, र टोल विकास संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा बाल संरक्षण, शिक्षा, स्वास्थ्य, सुरक्षालगायत विषयमा बालमैत्री सेवा तथा संरचना सुनिश्चित गर्न आवश्यक तयारी र कदमहरूबारे छलफल भएको सोसेक नेपालका बाल संरक्षण अधिकृत जनक अधिकारीले जानकारी दिनुभयो  ।

उहाँका अनुसार कार्यक्रमको सहजीकरण सामाजिक विकास शाखा प्रमुख विकास जिसी र सोसेक नेपालका बाल संरक्षण अधिकृत जनक अधिकारीले गर्नुभएको थियो। सहभागीहरूले वडा नं. ४ लाई बालमैत्री घोषणा गर्न आवश्यक पूर्वाधार, नीति, बालबालिकाका लागि सुरक्षित वातावरण, उनीहरूको सहभागिता सुनिश्चितता लगायतका बुँदामा सुझाव तथा प्रतिबद्धता व्यक्त गरे ।

बैठकले श्रावण १५ गतेसम्म जिल्ला समन्वय समिति र भगवतीमाई गाउँपालिकाबाट संयुक्त रूपमा अनुगमन गरिने निर्णय गरेको छ । त्यही आधारमा भदौ मसान्तभित्र वडा नं– ४ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णयसमेत गरिएको छ ।

उक्त कार्यक्रम भगवतीमाई गाउँपालिका वडा नं. – ४ को आयोजनामा, सोसेक नेपाल र भगवतीमाई गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो।

प्रतिक्रिया