सुर्खेतको बुलबुले तालले फेर्दैछ आधुनिक र मौलिक स्वरुप

सुर्खेतको बुलबुले तालले फेर्दैछ आधुनिक र मौलिक स्वरुप

सुर्खेत –  कर्णाली प्रदेशको प्रवेशद्वार सुर्खेतमा अवस्थित बुलबुले ताल अहिले नयाँ स्वरुप फेर्दै छ । स्वर्गकी अप्सरा रारा जाने मुलगेटमै रहेको यो तालले पछिल्लो समय आफ्नो पुरानो स्वरूपलाई पछाडि छोड्दै आधुनिक, मौलिक र हरितमैत्री पर्यटकीय गन्तव्यको रूपमा स्वरुप फेर्न थालेको छ ।

एक समय थियो, जब यो तालको धारा नुहाउन र पानी पिउन प्रयोग हुन्थ्यो । स्थानीयलाई जीवनधार, र आगन्तुकका लागि शीतल स्पर्श । तर समयसँगै तालको जीर्ण भइसकेका संरचनाले यसको सुन्दरता धमिल्याइरहेका थिए । अब, नगरपालिकाको दीर्घदर्शी गुरुयोजनाले बुलबुलेलाई फेरि जीवन्त बनाउँदैछ ।

विरेन्द्रनगर नगरपालिका र नगर विकास समितिको सहकार्यमा गुरुयोजना अनुसार बुलबुले ताललाई नयाँ रूप दिन योजनाबद्ध कामहरू भइरहेको छन । अहिले तालको पुराना जीर्ण संरचना हटाएर स्थानीय ढुंगा र मौलिक कलात्मक शैलीमा ढुङ्गेधारा जडानको काम भइरहेको छ ।

नगर प्रमुख मोहनमाया ढकालका अनुसार ३० लाख रुपैयाँको लागतमा मुख्य ताल वरपरका पुराना संरचना हटाएर कलात्मक ढुङ्गेधारा जडान कार्य थालिएको हो ।

गुरुयोजनाअनुसार अब तालमा नुहाउने व्यवस्था हटाइनेछ र धाराहरूलाई प्लाजाका रूपमा परिष्कृत गरिने नगरका सव–इन्जिनियर रामचन्द्र गौतमले जानकारी दिनुभयो  । यसले तालको सौन्दर्य मात्र नभई स्वच्छता र पर्यटकीय आकर्षणमा समेत उल्लेखनीय वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

राजस्वमा निरन्तर वृद्धि

बुलबुले तालबाट गत वर्ष ९९ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको नगर विकास समितिले जनाएको छ । चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाका दिन एक लाख रुपैयाँभन्दा बढीको टिकट बिक्री हुने गरेको छ भने अन्य दिनहरूमा पनि नियमितरूपमा १५–२० हजार रुपैयाँ बराबरको टिकट बिक्री हुँदै आएको छ ।

२०३० सालमा तत्कालीन राजा विरेन्द्रले उद्यानको रूपमा विकास गर्न सुरु गराएको बुलबुलेलाई २०४५ सालदेखि सरकारले संरक्षित क्षेत्रको रूपमा अपनत्व लिन थालेको हो । अहिले यसलाई पर्यटकीय र जैविक विविधतायुक्त हरित क्षेत्र बनाउने लक्ष्यसहित पुनर्विकास गरिँदैछ ।

नयाँ योजनाअन्तर्गत मुख्य ताल नजिकै सानो ताल निर्माण कार्य पनि भइरहेको छ । उक्त काम १ करोड १२ लाख रुपैयाँमा प्रविण निर्माण सेवा मार्फत २०८२ असार मसान्तसम्म सम्पन्न गरिने लक्ष्यसहित अघि बढाइएको छ । निर्माण कार्यमा कम्पाउन्ड वाल, क्यानल कभर, फुटपाथ व्यवस्थापन, र जैविक विविधता संरक्षण (पानीमा खेल्ने चरा आदिको रक्षा) समेत समावेश गरिएको छ ।

गुरुयोजनाको पहिलो चरणमा मुख्य ताललाई ११ हजार वर्गमिटरबाट २८ हजार वर्गमिटरमा विस्तार गरिएको छ, जसमा डुङ्गा सञ्चालन सहज हुने बनाइएको छ । नयाँ ताल निर्माणसँगै मुख्य तालमा पानी आपूर्ति मिलाउने व्यवस्था पनि गरिँदैछ, जसले तालमा डुङ्गा यात्रा थप आकर्षक बनाउनेछ ।

तालमात्र होइन, सुर्खेतको  चिनारी

बुलबुले ताल केवल एक जलाशय होइन, यो समग्र सुर्खेत जिल्लाको सांस्कृतिक र पर्यटकीय चिनारी हो । तालकै नाममा सिर्जित गीत–संगीत, साहित्य, र पर्यटन प्रवद्र्धनले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख ढकालको भनाई छ । उहाँले भन्नुभयो, ‘बुलबुलेलाई हरितमैत्री र आधुनिक पर्यटकीय स्थल बनाउने हाम्रो दीर्घकालीन उद्देश्य हो । गुरुयोजना कार्यान्वयनलाई नीति, कार्यक्रम र बजेटमार्फत निरन्तरता दिइँदैछ ।’

स्थानीय ढुंगा, मौलिकता, संस्कृति, स्वच्छता र पर्यावरणीय संवेदनशीलताको समिश्रणसहित पुनर्निर्माण हुँदै गरेको बुलबुले ताल अब केवल अवलोकन गर्ने स्थान होइन, अनुभव गर्ने स्थल बन्दै गएको छ । यसको सफल व्यवस्थापनले कर्णाली प्रदेशको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।

बुलबुले ताल अब केवल सौन्दर्यको प्रतीक होइन, सुर्खेतको पहिचान, कर्णालीको गौरव बनेको छ । तर, यो सम्भावनालाई दीर्घकालीन बनाइ राख्न स्थानीय सरकार, समुदाय र नागरिक सबैको साझा उत्तरदायित्व जरुरी रहेको स्थानीय अगुवा बताउँछन्  ।

तालको संरक्षण, मौलिकता, जैविक विविधता, वातावरणीय सन्तुलन र पर्यटनको समन्वय अबका दिनमा प्राथमिकता बन्नुपर्नेमा उनीहरुको जोड छ  । 
 

प्रतिक्रिया