खाडाचक्रमा मानसिक स्वास्थ्य र मासिक बचतबारे छलफल

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिकाको वडा नं १, दोहोला टोलमा फुलबारीमा महिला समूहको आयोजनामा मानसिक स्वास्थ्य सम्बन्धी जानकारीमूलक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
एईआइएन लक्जेमबर्गको साझेदारी सोसेक नेपाल द्वारा सञ्चालित आधार परियोजनाको सहजिकरणमा सम्पन्न उक्त बैठकमा वडा नं – १ को महिला समूहकी अध्यक्ष विद्यापुरा शाहीको अध्यक्षतामा महिला सदस्यहरूले सहभागिता जनाएका थिए ।
बैठकमा मानसिक स्वास्थ्यका महत्व, मनो–सामाजिक समस्याले व्यक्तिको जीवनका चार पक्ष (शारीरिक, मानसिक, सामाजिक र भावनात्मक) मा पर्ने प्रभावबारे जानकारी गराइएको थियो । सहभागीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र समस्या समाधानका उपायहरूबारे जानकारी गराइएको थियो ।
साथै, महिला समूहका सदस्यहरूले मासिक बचत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरी आगामी आर्थिक सुदृढीकरणतर्फ कदम चाल्ने तयारी गरेका छन् । यसले समूहका सदस्यहरूबीच आर्थिक सहकार्य र आत्मनिर्भरता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महिला समूहले यस प्रकारका कार्यक्रम नियमित गर्दै समृद्धि र स्वास्थ्यवर्धक वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया