दैलेखका सबै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

दैलेखका सबै स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

दैलेख -  संवैधानिक व्यवस्था अनुसार असार १० गतेसम्म सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधानअनुसार दैलेखका ११ वटै स्थानीय तहहरूले उक्त कार्य सम्पन्न गरेका छन्।

जिल्लाको नौमुले गाउँपालिकाले अन्य पालिकाभन्दा अगावै असार ८ गते नै नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको थियो । बाँकी १० वटा स्थानीय तहहरूले असार १० गते एकै दिन नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाभित्र भूगोल र जनसंख्याको आधारमा सबैभन्दा ठूलो दुल्लू नगरपालिकाले सबैभन्दा धेरै, १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। नगर प्रमुख भरतप्रसाद रिजालका अनुसार बजेट स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीमुखी कार्यक्रममा केन्द्रित गरिनेछ ।

दुल्लूपछि गुराँस गाउँपालिका दोस्रो स्थानमा रहेको छ। उपाध्यक्ष शिवाकुमारी खड्काका अनुसार पालिकाले आगामी वर्षका लागि ७३ करोड ६१ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ २४ पैंसा बजेट प्रस्ताव गरेको छ।

जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका बजेटको आकारका हिसाबले तेस्रो स्थानमा रहेको छ। प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाका अनुसार पालिकाले ५६ करोड ४४ लाख ६९ हजार ४ सय २९ रुपैयाँको बजेट पारित गरेको छ।

जिल्लाका दुर्गम पालिकाहरूको बजेट कम देखिएको छ। ठाँटीकाँध गाउँपालिकाले ४१ करोड १५ लाख ३१ हजार ५९ रुपैयाँको बजेट ल्याएको छ भने छिमेकी डुंगेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार ९ सय ७३ रुपैयाँको बजेट विनियोजन गरेको छ।

स्थानीय तहहरूद्वारा प्रस्तुत बजेटहरूमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र विपद् व्यवस्थापनजस्ता विषय प्राथमिकतामा परेका छन्।

११ वटा पालिकामध्ये कुन पालिकाको कति बजेट यहाँ हेर्नुहोस

 

प्रस्तुत अमर सुनार

प्रतिक्रिया