चन्दननाथ मन्दिरको दानपेटिका फोडेर भेटी चोरी

चन्दननाथ मन्दिरको दानपेटिका फोडेर भेटी चोरी

जुम्ला –   कर्णाली क्षेत्रको ऐतिहासिक तथा धार्मिक स्थल चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका फोडेर भेटी चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले शनिबार साँझ चन्दननाथ नगरपालिका–१० निवासी २७ वर्षीय वीरजित कामीलाई पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिनबाबु रेग्मीका अनुसार, कामीले असार १२ गते बिहीबार दिउँसो करिब २ः४० बजे मन्दिर परिसरमा रहेको दानपेटिका फोडी त्यहाँ जम्मा भएको नगद भेटी चोरी गरेका थिए।

घटनापछि तत्काल अनुसन्धान थालिएको प्रहरीले मन्दिरमा जडान गरिएको सीसीटीभी फुटेजको सहायताले अभियुक्तको पहिचान गरी पक्राउ गर्न सफल भएको जनाएको छ। “दानपेटिका फोडेको दृश्य स्पष्ट रूपमा सीसीटीभीमा देखिएपछि अभियुक्तको पहिचान गर्न सहज भयो,” डीएसपी रेग्मीले बताउनुभयो ।

पक्राउ परेका कामी स्थानीय मजदुरी पेसामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। चोरीको घटनापछि चन्दननाथ मन्दिरको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ। डीएसपी रेग्मीका अनुसार अबदेखि मन्दिर सुरक्षाका लागि प्रहरी हवल्दारको नेतृत्वमा एक विशेष सुरक्षा टोली खटाइएको छ।

पक्राउ परेका कामीमाथि हाल आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया