दैलेखका ९ स्थानीय तहले मनाए धान दिवस

दैलेखका ९ स्थानीय तहले मनाए धान दिवस

दैलेख-  दैलेखमा हरेक बर्ष असार १५ गते किसानसंग धान दिवस मनाउने गरिन्छ । यस पटकको २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव धुमधामका साथ मनाइएको छ ।  जिल्लाको नारायण नगरपालिका–७ विजौरा स्थीत भनभनेमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ कृषि विकास कार्यालय र नारायण नगरपालिकाले मनाएको हो ।

यस वर्षको नारा ‘धान बालीमा सघनता : खाध्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने रहेको थियो यहि नारालाइ आत्मसाथ गर्दै देशैभर धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न गरिएको छ ।
कृषि विकास कार्यालय दैलेखको आयोजनामा आइतबार नारायण नगरपालिका–७ भनभनेमा रहेका कृषकको खेतबारीमा नै पुगेर धान दिवस तथा रोपाइँ महोत्सव गरेको कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार कृषकलाई कृषिप्रति आकर्षित गर्न, सोचेभन्दा धेरै धान उत्पादनमा वृद्धि ल्याउन रोपाइँ महोत्सव गरिएको हो । गत वर्ष दैलेखमा असार १५ गतेसम्म करिब २८ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस वर्ष करीब ३४ प्रतिशत रोपाइँ गरिसकेको जानकारी छ । गत बर्ष भन्दा यो बर्ष ३ साता अगाडी मनसुन भित्रिएसँगै पानी निरन्तर पर्दा किसानले रोपाइँ छिट्टै गर्न भ्याएको उहाँको भनाइ छ ।
वर्षातको भरमा बीउ राख्ने र साउन अन्तिममा हुने रोपाइँ पनि यस पटक पानी समयमै परेका कारण किसानले रोपाइँ गर्न सफल भएको पाण्डे बताउनुहुन्छ । दैलेखमा ७ हजार नौं सय २५ हेक्टर जमीनमा धान खेती गरिन्छ । यस बर्ष जिल्लाका ९ वटा स्थानीय तहहरुले धान दिवस मनाएका छन् । भैरवी गाउँपालिकाले वडा नं.३ को गडाजिउलामा धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । उक्त पालिकाको कृषि शाखाले उत्तर गंगा कृषि तथा पशुपालन कृषक समुह भैरवी ३ लाई १ वटा मिनि टिलर र सम्मानको लागि स्याँकु पनि हस्तान्तरण गरीएको छ । रोपाइ महोत्सवमा हिले दौड र हिले घैटो फुटाई कार्यक्रम पनि गरिएको थियो ।

यस्तै चामुण्डाविन्द्रासैनि नगरपालिका, आठविस नगरपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिका, ठाटिकाँध गाउँपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिकाले आ–आफ्नो पालिका भित्र दिवस मनाए पनि महाबु गाउँपालिका र दुल्लु नगरपालिकाले भने यस बर्ष असार १५मा धान दिवस मनाएनन् ।


 

प्रतिक्रिया