एक वर्षमा दैलेखमा ४७ जनाले गरे आत्महत्या

दैलेख – आर्थिक वर्ष २०८१÷८२ मा दैलेख जिल्लामा आत्महत्या गर्नेहरूको सङ्ख्या ४७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सो अवधिमा भएका कुल २१८ आपराधिक घटनामध्ये आत्महत्या सम्बन्धी घटनाहरू प्रमुख रहेका छन्।
प्रहरी तथ्याङ्कअनुसार झुण्डिएर ४४ जना र विष सेवन गरेर तीन जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी उपरीक्षक गणेशबहादुर बरालका अनुसार आत्महत्या गर्नेको सङ्ख्या हरेक वर्ष बढ्दो अवस्थामा छ ।
“मानसिक रोग, सामाजिक, सांस्कृतिक र आर्थिक समस्याहरू आत्महत्याका प्रमुख कारण हुन्,” उहाँले बताउनुभयो, “यस्तो अवस्था न्यूनीकरण गर्न सबै तह र तप्काबाट सहकार्य आवश्यक छ।”
प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, बाल विवाह, बहुविवाहजस्ता सामाजिक विकृतिहरू आत्महत्याको कारक बनेका छन्। प्रहरी निरीक्षक एवं सूचना अधिकारी लालबहादुर सुनारले आत्महत्याका पछाडि यस्ता सामाजिक समस्याहरूले पनि ठूलो भूमिका खेलेको बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा आत्महत्याका ४७ घटना बाहेक बलात्कारका २५, लागुऔषध सम्बन्धी ११, सवारी दुर्घटनाका नौ, हत्या सात, ज्यानमार्ने उद्योग सात, आत्महत्या दुरुत्साहन छ, हातहतियारका दुई र ठगीका दुई मुद्दा दर्ता भएका छन्।
सुरक्षा निकायले आत्महत्या न्यूनीकरणका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, पीडितमैत्री समन्वय र प्रभावकारी निगरानी प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरेको छ।
प्रतिक्रिया