तुर्सु खोला र धाराखोलामा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य

दैलेख - दैलेखको भगवतीमाई गाउँपालिका–३ र ४ लाई जोड्ने तुर्सु खोला र धाराखोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि जोखिम मोलेर खोला तर्न बाध्य छन् । वर्षायाममा खोला सजिलै तर्न सकिँदैन, तर विकल्प नहुँदा विद्यालय, स्वास्थ्य संस्था र अन्य सार्वजनिक सेवामा पुग्न यिनै खोलामार्फत आवतजावत गर्नुपर्ने अवस्था छ।
देश संघीयतामा गएको यतिका समय भइसक्दा पनि ग्रामीण स्तरमा विकासको अनुभूति हुन नसकेको स्थानीयको गुनासो छ । घुम्ने स्थितिमा रहेका यी खोलाबाट दैनिक करिब ४ हजारभन्दा बढी स्थानीय नागरिक आवतजावत गर्छन् ।
भगवती माध्यमिक विद्यालयमा अध्ययनरत ४५० विद्यार्थी, भगवतीमाई आधारभूत स्वास्थ्य केन्द्र, वडाकार्यालय तथा प्रसिद्ध भगवतीमाई मन्दिरमा जाने बाटो यही खोलाबाट जानुपर्ने भएकाले पुल नहुनु स्थानीयका लागि गम्भीर समस्या बनेको छ।
यो मार्ग दैलेखका साथै जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका, मुजकोट, आली र मोगान क्षेत्रका बासिन्दाले समेत प्रयोग गर्ने भएकाले पुल आवश्यकताको विषय अब केवल स्थानिय मुद्दा मात्र नभएर अन्तरपालिका सहकार्यको एजेण्डा बनेको छ ।
भगवतीमाई–४ का वडाध्यक्ष देवलोक अधिकारीका अनुसार, पुल निर्माणका लागि वडाको तर्फबाट प्रयास भइरहे पनि सिमित स्रोत साधनका कारण संघ तथा प्रदेश सरकारको सहयोग विना सम्भव छैन। “हामीले पटक–पटक अनुरोध गरिसकेका छौं, तर अझैसम्म पहल भएको छैन,” वडाध्यक्ष अधिकारीले बताउनुभयो ।
संघीयता कार्यान्वयनपछि गाउँगाउँमा सिंहदरबारको अनुभूति गराउने भनिए पनि दैलेखको यो क्षेत्रका नागरिकलाई राज्य नजिक छ भन्ने अनुभूति कहिल्यै हुन सकेको छैन। सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारामात्र उराठ लाग्दो भाषण जस्तो देखिएको स्थानीयको धारणा छ।
प्रतिक्रिया