'सोसेक हामी जस्ता पीडित महिलाहरूको माईतीघर हो'

- बसन्ती बराल
मेरो नामबसन्ती बराल हो । म कालिकोट जिल्लाको रास्कोट नगरपालिकाकी बासिन्दा हुँ । आज म तीन सन्तानकी आमा हुँ – एक छोरा र दुई छोरीकी। विवाह भएको झण्डै १० वर्ष भइसक्यो, तर ती वर्षहरू मका लागि केवल पतिको साथ नभएर शारीरिक र मानसिक हिंसाको कठोर परीक्षा पनि थिएँ ।
विगत ८ वर्षसम्म म निरन्तर हिंसाको चपेटामा परेँ – शारीरिक यातना, गालीगलौज, अपमान र मानसिक त्रासले मेरा दिनरात नर्क बने। थुप्रै पटक यस्तो लाग्यो कि अब बाँच्न कुनै कारण बाँकी छैन। आत्महत्याको प्रयाससम्म गरेँ। डिप्रेसनको औषधि खान थालिसकेको थिएँ । जिन्दगीप्रति आशा हराउँदै थियो ।
तर एक दिन, मलाई मेरो आफन्तमार्फत सोसेक नेपाल र सुरक्षित आवास सेवाबारे जानकारी भयो। सुरुमा निकै डर लाग्यो – नयाँ ठाउँ, अनजान अनुहारहरू। तर जब म सोसेक पुगेँ, म एक किसिमको आत्मीयता र अपनत्वको आभास पाएँ। त्यहाँका दिदीबहिनीहरूले मलाई सुने, बुझ्ने प्रयास गरे, कानुनी परामर्श दिए, अनि आत्मबल बढाउने अनेक तरिकाले साथ दिइन् ।
यही साथ र सशक्तिकरणका आधारमा मैले निर्णय गरेँ – अब म चुप लागेर हिंसा सहँदिन। मैले आफ्ना अधिकारको लागि बोल्न सुरु गरेँ। अहिले म श्रीमानसँग सम्बन्धविच्छेदको मुद्दा दायर गरेर अलग बसिरहेकी छु। सुरक्षित आवास र संस्थाको माया नपाएको भए, सायद म आज यो कथा सुनाउने अवस्थामा हुने थिइनँ ।
सोसेक नेपाल केवल एउटा संस्था होइन – यो हामी जस्ता पीडित महिलाहरूको माईतीघर हो । यहाँ म मात्र आश्रय होइन, सम्मान पनि पाइन्। उहाँहरूले दिनुभएको आत्मबल, कानुनी चेतना र आत्मनिर्भरताको प्रेरणाले आज म फेरि बाँच्न थालेकी छु – नयाँ रुपमा, स्वतन्त्र रुपमा ।
म यो संस्थाप्रति हृदयदेखि आभारी छु। म विश्वास गर्छु – नेपालभरि सोसेक नेपालजस्ता संस्था फैलनुपर्छ, ताकि म जस्ता अरु सयौं–हजारौं महिलाहरूले पनि आफ्नो पीडा सुनाउन र परिवर्तन ल्याउन सकून् ।
प्रतिक्रिया