मौरीपालक किसानलाई सात दिने तालिम

दैलेख: कर्णाली प्रदेशका मौरी पालन व्यवसायीहरूको सीप अभिवृद्धि, व्यावसायिक विस्तार र बजार पहुँचलाई सबल बनाउने उद्देश्यले नेपाल मौरी पालन महासङ्घ कर्णाली प्रदेशले सात दिने तालिम प्रदान गरेको छ ।
श्रावण ५ गतेदेखि ११ गतेसम्म सुर्खेतमा सञ्चालन भएको तालिममा दैलेख, जाजरकोट र सुर्खेत जिल्लाका २५ देखि ५० घारसम्म मौरी पालन गर्ने ३५ जना किसान लक्षित भएको कार्यक्रमको आर्थिक सहयोग हेल्भेटास नेपाल र आयोजना नेपाल मौरी पालन महासङ्घ सुर्खेत रहेको अध्यक्ष लिलाराम ढकालले जानकारी दिनुभयो।
ढकालले दिएको जानकारी अनुसार तालिममा मौरी पालनमा देखिने समस्या, मौरीको स्याहार, आधुनिक प्रविधिको प्रयोग, मौरीको स्वास्थ्य र उत्पादन वृद्धि गर्ने तरिका लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो, तालिमको मुख्य उद्देश्य मौरी पालन व्यवसायलाई थप व्यावसायिक बनाउँदै किसानहरूको आम्दानी वृद्धि गर्नु हो ।
हाल ठुला किसानलाई तालिम दिइएको छ । आगामी चरणमा ५ देखि १५ घारसम्म मौरी पालन गर्ने साना किसानलाई जिल्लामै तालिम दिने योजना बनाइएको महासंघले जनाएको छ ।
महासङ्घले साना किसानलाई प्रोत्साहन स्वरूप ५ घार भएका किसानलाई थप ५ घार सहयोग स्वरूप उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । साथै, साना किसानले लागतको ३० प्रतिशत मात्रै व्यहोर्नु पर्नेछ भने बाँकी ७० प्रतिशत लगानी महासङ्घले गर्ने बताइएको छ ।
दैलेख र जाजरकोट जिल्लामा महको बिक्री वितरण सहज रहेको जनाइएको छ । तर, सुर्खेतमा उत्पादनलाई ब्रान्डिङ सहितको एक द्वार प्रणाली मार्फत बजारमा लैजाने उद्देश्यले उद्योग सञ्चालनको तयारी भइरहेको छ । उद्योगका लागि आवश्यक मेशिन तथा उपकरणहरू आइसकेका छन् ।
महासङ्घका अनुसार हाल कर्णाली प्रदेशभर झण्डै १५ हजार मौरीपालक किसान छन् । महासङ्घको प्रयासमा केही जिल्लामा शाखा विस्तार भइसकेको र बाँकी जिल्लामा समेत शाखा स्थापना गर्ने तयारी भइरहेको छ । मौरी पालन व्यवसायको प्रवर्द्धनका लागि महासङ्घ र हेल्भेटासको ‘इलेनेम परियोजना’ बिच चार वर्षे सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार तालिम, प्रविधि र बजार व्यवस्थापनमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
तालिममा सहभागी किसानहरूले आफूहरूले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् । साथै, व्यवसाय सञ्चालनमा सहयोग पु¥याउने गरी गाडी र थप घारको माग गरेका थिए । तालिमको सहजीकरण मौरी पालन विज्ञ माधव के.सी.ले गर्नुभएको थियो । यस भन्दा अगाडि दैलेखमा २ दिने मौरी पालन तालिम सोसेक नेपालले करिब २५ जना किसानहरूलाई दिइएको थियो ।
प्रतिक्रिया