दैलेखमा बँदेलको आतङ्कदेखि बहुविवाह मस्यौदासम्म सांसद रानाको संसदमा ध्यानाकर्षण

दैलेखः प्रतिनिधिसभा सदस्य माननीय सिता कुमारी रानाले दैलेखमा लगातार बढ्दो बँदेलको आतङ्क, पेट्रोलियम अन्वेषणको भविष्य, बहुविवाहसम्बन्धी कानुन मस्यौदा र सुशासनको सवालमा सोमबार संसदमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
उहाँका अनुसार दैलेख जिल्लामा वर्षौंदेखि किसानहरू बँदेलको आक्रमणबाट पीडित छन्। यो वर्ष बालीको नोक्सानी मात्र नभई बँदेलको आक्रमणबाट टेकबहादुर शाहीसहितका युवा घाइतेसमेत भएका छन्। घाइतेहरूको अहिले उपचार भइरहेको भए पनि राज्यको तर्फबाट निःशुल्क उपचारको व्यवस्था हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।
किसानको पीडामा सरकार असंवेदनशील देखिनु दुःखद कुरा हो,” भन्दै उहाँले दीर्घकालीन समाधानको लागि योजना बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो। त्यस्तै, चीन सरकारको प्राविधिक सहयोगमा दैलेखमा गरिएको पेट्रोलियम तथा मिथेन ग्यासको अन्वेषणले १ सय १२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डारण रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको उल्लेख गर्दै, सांसद रानाले यस परियोजना कागजी प्रतिवेदनमै सीमित नहोस् भनेर सरकारलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न आग्रह गर्नुभयो।
“नेता गिरिजाप्रसाद कोइरालाले थालनी गर्नुभएको यस योजनालाई वर्तमान प्रधानमन्त्रीको नेतृत्वले नयाँ मोड दिएको छ। अब यो परियोजना मुलुकको समृद्धिको आधार बन्नुपर्छ,” भन्दै उहाँले सरोकारवालालाई आभार प्रकट गर्दै गम्भीरता अपनाउन आग्रह गर्नुभयो।
सांसद रानाले हालसालै चर्चामा आएको बहुविवाहसम्बन्धी कानुनको मस्यौदा प्रति पनि तीव्र विरोध जनाउनुभयो सरकारले सम्बन्धविच्छेद नहुने अवस्थामा पनि विवाहित पुरुषसँग सम्बन्धबाट आमाहरू भएका महिला अन्यायमा परेका छन् भन्ने तर्क दिएकोप्रति उहाँले आपत्ति जनाउँदै भन्नुभयो।
“यसले महिला अधिकार, त्याग र बलिदानको अपमान गर्छ। यदि सरकारले यस्तो प्रतिगामी मस्यौदा संसदमा ल्याउने दुस्साहस गर्छ भने त्यसको मूल्य सरकारलाई अस्वाभाविक रूपमा चुकाउनुपर्छ।”
अन्त्यमा, उनले भूमि आयोगसँग सम्बन्धित अडियो प्रकरण, स्पेन प्रकरण, र पछिल्ला विधेयकहरूमा उठेका प्रश्नहरूको सन्दर्भ उठाउँदै सुशासनको समेत प्रश्न उठाउनुभयो।
प्रतिक्रिया