वीरेन्द्रनगरमा पाँच दिने बाल संवाददाता तालिम सम्पन्न

वीरेन्द्रनगरमा पाँच दिने बाल संवाददाता तालिम सम्पन्न

सुर्खेत -  वीरेन्द्रनगर नगरपालिकामा पाँच दिने बाल संवाददाता तालिम सम्पन्न भएको छ। एईआइएन लक्जेम्बर्गको साझेदारी, वीरेन्द्रनगर नगरपालिकाको समन्वय र सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजनाको आयोजनामा साउन १५ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न गरिएको हो।

तालिममा नगरपालिकाका वडा नं- १, २, ६, ७ र ८ का बाल क्लब प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समापन सत्रमा वडा नं- १ का अध्यक्ष दिनेश खत्रीले बाल संवाददाताहरूलाई समाजमा भएका सकारात्मक तथा नकारात्मक पक्ष उजागर गर्ने माध्यमका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो । “अब तपाईंहरू समाजका कथाहरू सुनाउने माध्यम बन्नु भएको छ,” अध्यक्ष खत्रीले भन्नुभयो, “वडाले तपाईंहरूलाई आवश्यक साथ दिनेछ।”

वडा नं- ७ का अध्यक्ष ध्रुवकुमार चपाईंले बाल संवाददाताहरूले उपलब्धिमूलक काम गर्नुपर्नेमा जोड दिंदै भविष्यमा उनीहरू सफल पत्रकार बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

बिहानी परियोजनाकी संयोजक माया अधिकारीका अनुसार, तालिमको उद्देश्य बाल प्रतिनिधिहरूलाई बाल अधिकार, स्थानीय सरोकार, विद्यालय र समुदायमा बालबालिकामाथि हुने विभिन्न मुद्दाहरूको पहिचान, उजागर र सञ्चारमार्फत आवाज बुलन्द गराउने क्षमता विकास गर्नु हो।

पाँच दिने तालिमको सहजिकरण पत्रकार जगतदल जनाला विकले गरेका थिए। तालिम अवधिमा सहभागीहरूले पत्रकारिताको परिचय, समाचार लेखन सीप, समाचारको सामाजिक प्रभाव, मोबाइल पत्रकारिता, मिथ्या सूचना तथा त्यसको असर, पत्रकार आचारसंहिता, समाचार कक्ष अवलोकन लगायतका व्यवहारिक र सैद्धान्तिक सत्रहरूमा सहभागी भएका थिए।

त्रिपुरेश्वर माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियो।

यो तालिमबाट निस्किएका बाल संवाददाताहरूले अब विद्यालय र समुदायको कथा लेख्ने, बालबालिकाको आवाज अभिव्यक्त गर्ने माध्यम बन्ने अपेक्षा लिइएको छ।

प्रतिक्रिया