वीरेन्द्रनगरका महिलाहरु ढाकाको झोलामा बुन्दै आत्मनिर्भरताको सपना
महिलाहरुका लागि बुधवारदेखि १० दिने सीपमूलक तालिम संचालन

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा अहिले एउटा फरक ऊर्जा छाउँदै छ । ढाकाको रंगीन कपडा, सियो–धागो र सिर्जनशील सोचसँगै, यहाँका ७ जना महिलाहरू आफ्ना सपनालाई साकार बनाउन झोला बनाइरहेका छन् -आत्मनिर्भरताको झोला ।
लालिगुराँस महिला समूहका सातजना महिलाहरू अहिले १० दिने सीपमूलक तालिममा सहभागी छन्, जहाँ उनीहरूलाई ढाका कपडाबाट आकर्षक र वातावरणमैत्री झोला बनाउने सीप दिइँदैछ । तालिम झोला बनाउन मात्र सिकाउने कार्यक्रम होइन, यो त महिलाको जीवनशैली, आत्मबल र आर्थिक स्वतन्त्रतासँग गाँसिएको यात्राको सुरुवात भएको समूहकी अध्यक्ष धनसरा बोहोराको भनाई छ ।
एईआइएनलक्जेम्बगको साझेदारी वीरेन्द्रनगर नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा वीरेन्द्रनगरमा संचालित बिहानी परिायोजनाको आयोजनामा संचालन भएको उक्त तालिम १० दिनसम्म संचालन हुने परियोजना संयोजक माया अधिकारीले जानकारी दिनुभयो ।
तालिमको प्रशिक्षक सरिता रावल हुनुहुन्छ । उहाँ आफैँ एक सफल महिला उद्यमीले महिलालाई ढाका डिजाइन, काटछाँट, सिलाइ, ब्राण्डिङ र मूल्य निर्धारणका सीप सिकाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यी झोलाहरू प्लास्टिकको सस्तो विकल्प मात्र होइनन्, महिलाको आत्मविश्वास र पहिचानको प्रतीक बन्नेछन्।”
उत्पादनपछि झोलालाई बजारमा पुर्याउने रणनीति बनाइएको संयोजक अधिकारीले बताउनुभयो । “सामाजिक सञ्जालमार्फत मार्केटिङ, स्थानीय सहकार्य र वडा कार्यालयको सहजीकरणमार्फत विक्री वितरण सुनिश्चित गरिनेछ,” उहाँले भन्नुभयो ।
सहभागी महिलाहरू ढाकाको झोलालाई प्राथमिकता दिँदै हालको बजार मागअनुसारका सबै प्रकारका झोलाहरू बनाउन सिक्दैछन् । उनीहरूको लक्ष्य बजारमा सेवा प्रवाह गर्न सकिने बहुउपयोगी झोलाको उत्पादनमा केन्द्रित छ । तालिमको १० दिनभित्रै बजारमा माग भएका सबै प्रकारका झोलाहरू साना, ठूला, डिजाइनर, सबैका नमुनाहरू तयार पार्ने योजना अनुरूप उनीहरूले अभ्यास गरिरहेको परियोजना संयोजक अधिकारीले बताउनुभयो ।
सहभागीमध्ये अधिकांश महिला घरमै सामान्य सिलाइकटाइ गर्दै आउनुभएको थियो, तर, उनीहरूका सीप कहिल्यै व्यवसायमा रूपान्तरण हुने अवसर पाएका थिएनन् । अब भने उनीहरू उद्योग दर्ता गरेर समुहमा काम गर्ने, आफ्नै ब्रान्ड बनाउने योजनामा रहेको समूहकी सदस्य गिता नेपाली बताउँनुहुन्छ ।
तालिममा सहभागी महिलाहरूका हातमा सियो–धागो मात्र छैन, भविष्यको आशा, परिवारको सपना र समुदायप्रतिको प्रेरणाको धागो पनि छ । ढाकाको कपडाजस्तै जीवनका रंगहरूलाई गाँस्दै, उनीहरूले अब आत्मनिर्भरताको बाटो आफैँ बुन्दै छन् ।
प्रतिक्रिया