गुराँसका ३१ घरधुरीलाई फिल्टर वितरण

दैलेख- दैलेखको गुराँसका ३१ घरधुरीलाई फिल्टर वितरण गरिएको छ। सोमबार गुराँस गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको प्राविधिक सहयोगमा नागरिकलाई सुद्ध पानी पिलाउने उद्देश्यका साथ गुराँस गाउँपालिका–८ मा सञ्चालित आइते काफल खनारा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को प्रथम साधारण सभामा फिल्टर वितरण गरिएको हो ।
आयोजनाबाट ३१ घरधुरीलाई ३१ वटा १६ लिटरको फिल्टर ,सामुदायिक विद्यालयलाई एक फिल्टर ,३३ वटा धारा निर्माण गरिएको आयोजनाले जानकारी दिएको छ। आयोजनाको अनुसार १७२ जना स्थानीय ३६ जना विद्यालयका विद्यार्थीहरू गरी जम्मा २ सय ८ जना प्रत्यक्ष लाभान्वित भएका छन्। विगतमा सुरक्षित खानेपानीको लागि १ देखि २ घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यतामा रहेका गुराँस बासी,अहिले घरमै पानीका धारा आएपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् ।
साधारण सभा कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष थाम बहादुर खत्रीले जसरी योजना बनाउँदा सक्रिय रूपमा काम गर्नुभएको छ यसरी नै आउँदा दिनहरूमा पनि यसरी नै संरक्षण र संवद्र्धन गर्न आग्रह गर्दै वडा तथा पालिका वाट पनि सहयोग भइरहने बत्ताउनुभयो ।
स्थानीय भविसरा वलीले सरसफाइका सूचकहरूबारे सिक्ने अवसर पाएको छौ, फिल्टर पाएका छौ, गाउँमा धारा पुगेपछि वर्षा याममा सुद्ध पानी पिउन पाउने भयौ पानीबाट फैलिने सरुवा रोगमा कमी आउने विश्वास लिएका छौ, उहाँ भन्नुहुन्छ, 'अनुसार घरघरमा पानीका धारा उपलब्ध भएपछि हामी खुसी छौ।'
महिला स्वयंसेविका भावना वलीले गाउँपालिका र सोसेक नेपाललाई धन्यवाद व्यक्त गरिन् अब सबैले सुरक्षित पानी पिउने सरसफाइमा ध्यान दिएर पानीजन्य रोगबाट बच्न सकिने बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर वलीले सोसेक नेपाल तथा एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र पालिका को संयुक्त आयोजनामा गाउँमा खानेपानी सुविधा पुगेकोमा सहयोगी निकायप्रति आभार व्यक्त गर्दै उपभोक्ताहरूलाई योजनाको नियमित सञ्चालन र मर्मत–सम्भारमा समिति र समुदायको महत्त्वपूर्ण भूमिका रहने भएकाले सक्रिय रूपमा सहयोग गर्न उपभाक्ताहरु सवैमा आग्रह गर्नुभयो ।
उक्त खानेपानी योजना कुल १९ लाख ३७ हजार ७ सय ९१ रुपैयाँ लागतमा सम्पन्न भएको थियो जुन योजनामा गाउँपालिका वाट ४ लाख ७६ हजार ८ सय ९७ रुपैयाँ, हेल्भेटास नेपाल वाट ९ लाख ८७ हजार ८ सय १७ रुपैयाँ, जनश्रमदानबाट ४ लाख ७३ हजार ७७ रुपैयाँको र प्राविधिक सहयोग सोसेक नेपाल दैलेख वाट रहेको सोसेक नेपालका सामाजिक सहजकर्ता पुष्पा कुमारी रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया